१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

भक्तपुर चिनाउने ‘हाडा छेँ’

समग्र भक्तपुर चिनाउने एउटा नयाँं घर तयार भएको छ। भक्तपुर नगरपालिका वडा नं. ४ मङ्गलाछेमा अवस्थित हाडा छेँ लामो समयदेखि जीर्ण बनेर अस्तित्व संकटमा थियो। तर भक्तपुर नगरपालिकाले यसको मौलिकता नबिगार्ने गरी पुनःनिर्माण गरेपछि अहिले यो फेरि पुरानै स्वरूपमा फर्किएको छ।

इँटा, काठ र परम्परागत शैलीको संयोजनले बनेको यो घर भक्तपुरको ऐतिहासिक वास्तुकलाको उत्कृष्ट नमुना बनेको छ। यो घरको पुननिर्माणसँंगै साँघुरा गल्ली, इँटाले बनेका चोक र काठका कलात्मक झ्यालहरूले बोकेको इतिहासभित्र फेरि एउटा पुरानो धड्कन फर्किएको छ।

शताब्दीयौँ पुरानो सांस्कृतिक स्मृतिलाई बोकेको मङ्गलाछेस्थित हाडा छेँ अब पुनः आफ्नो मौलिक स्वरूपमा उभिएको छ । यो केवल एउटा घरको पुनःनिर्माण होइन, भक्तपुरको आत्मा जोगाउने अभियानको अर्को महत्वपूर्ण अध्याय बनेको हो।

यसअघि भक्तपुर नगरपालिकाले घरधनी मदनकृष्ण हाडासँग यो घर खरिद गरी सम्पदाका रूपमा संरक्षण गर्ने योजना अघि बढाएको थियो। अहिले करिब १ करोड ७१ लाख रुपैयाँ खर्च गरेर सम्पन्न गरिएको पुनःनिर्माणले त्यो दीर्घकालीन सोचलाई मूर्त रूप दिएको छ। घर चार तल्ले छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पुनःनिर्माण सम्पन्न हाडा छेँको बुधबार उदाटन गर्दै जीर्ण अवस्थाबाट फेरि जीवन पाएको यो घर भक्तपुरको गौरव भएको बताए। उनका अनुसार यस्ता घरहरू केवल पुराना संरचना होइनन्, यी इतिहास, सभ्यता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृतिका जीवित अभिलेख हुन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाडा छेँ केवल भौतिक संरचना नभई भक्तपुरको सांस्कृतिक गौरवको प्रतीक भएको बताए। उनले पुनःनिर्माणले भक्तपुरको मौलिक जीवनशैली र सभ्यताबारे नयाँ पुस्ता तथा विदेशी पर्यटकलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

भक्तपुरका पुराना घरहरू यहाँका मानिसहरूको जीवनपद्धति, सामाजिक सम्बन्ध र कलात्मक चेतनासँग गाँसिएका छन्। यही कारण भक्तपुरलाई ‘जीवित संग्रहालय’ समेत भन्ने गरिन्छ। हाडा छेँको पुनःनिर्माणले त्यही जीवित इतिहासलाई संरक्षण गर्ने प्रयासलाई थप बल दिएको छ।

बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले भक्तपुरका सम्पदाले नयाँ पुस्तालाई आफ्नो इतिहास नजिकबाट बुझ्ने अवसर दिएको बताए। उनका अनुसार सम्पदा विनाको विकास केवल कंक्रिटको विस्तार मात्र हुन्छ, तर संस्कृति र पहिचान हराएपछि शहरको आत्मा नै हराउँछ।

यस पुनःनिर्माणको अर्को महत्वपूर्ण पक्ष भनेको परम्परागत सीपको संरक्षण पनि हो । कार्यक्रममा घर बनाउँदा काम गर्ने सिकर्मी र डकर्मीहरूको विशेष सम्मान गरिएको थियो। प्रमुख अतिथि बिजुक्छेँले उनीहरूलाई ‘सांस्कृतिक गुरु’को संज्ञा दिँदै भक्तपुरको मौलिक कला र सभ्यतालाई पुस्तान्तरण गर्ने वास्तविक अभियन्ता भएको बताएका थिए।

हाडा छेँको भित्तामा रहेको पुरानो भित्तेचित्रलाई पनि संरक्षण गरिएको छ। पुरातत्वविद्हरूका अनुसार त्यस्ता चित्रहरू केवल सजावट होइनन्, ती तत्कालीन समाजको जीवनशैली, विश्वास र सांस्कृतिक चेतनाका दस्तावेज हुन्। पुरातत्व अधिकृत रज्जु हाडाले यस्ता भित्तेचित्र संरक्षण गर्नु सम्पदाको आत्मा जोगाउनु सरह भएको बताइन्।

घर पुननिर्माण सम्पन्न भएसँंगै हाडा छेँको मूल ढोकामा फेरि नयाँ काठको सुगन्ध मिसिएको छ, त्यसले केवल एउटा भवन पुनर्जीवित भएको संकेत गर्दैन, यसले भक्तपुर आफ्नो इतिहाससँग अझै जीवित रहेको, आफ्नो मौलिकता जोगाउन प्रतिबद्ध रहेको र आधुनिकताको भीडमा पनि आफ्ना जरा नबिर्सिएको सन्देश दिएछ।

व्यक्तिबाट जग्गा किनेर पुरानै शैलिमा बनाइएको यो घरलाई केमा उपयोग गर्ने भन्ने विषयमा छलफल चलिरहेको भक्तपुर नगरपालिकाले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०८३ १९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App