२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

आगजनी, तोडफोड र लुटपाटकर्ता केलाउँदै बाँके प्रहरी

जेन–जी आन्दोलनका आडमा सरकारी तथा व्यक्तिगत संरचनामाथि आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिको पहिचान गर्न बाँके प्रहरीले छुट्टै युनिटलाई खटाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक सञ्जाल(फेसबुक, टिकटक)मा अपलोड भएका भिडिओ र तस्बिरबाट संलग्न व्यक्तिको पहिचान गर्न सुरु गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) अंकुर जिसीका अनुसार त्यस्ता गतिविधिमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ‘अन्य व्यक्तिको पनि पहिचान गर्ने प्रक्रिया चलिरहेको छ,’ उनले भने, ‘आन्दोलनको आडमा कतिपयले व्यक्तिगत रिसिइबी साँधेर आपराधिक कार्य गरेको पनि देखिन्छ।’ 

घटनाको छानबिन गर्न संघीय सरकारले जाँचबुझ आयोग पनि गठन गरिसकेको बताउँदै प्रहरीले अभिलेखका लागि पनि अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘हामीले अभिलेख राख्ने काम गरिरहेका छौँ। सजिलो पनि भएको छ, एकदम राम्रा–राम्रा भिडिओहरू सामाजिक सञ्जालमा पाइरहेका छौँ।’

जिल्ला प्रहरी कार्यालयमा रहेको एउटा युनिटले सामाजिक सञ्जालमा आन्दोलनका क्रममा अपलोड गरिएका तस्बिर र भिडिओ खोजी रहेको पनि एसपी जिसीले पुष्टि गरे। ‘आपराधिक कार्यको अनुसन्धान गर्न कसैको निर्देशन पनि चाहिँदैन, कसैले छुट पाउने पनि होइन । आपराधिक कार्य त आपराधिक कार्य नै हुन्छ, यसलाई अपराधकै रूपमा लिनुपर्छ’, उनले भने।

आन्दोलनका कारण केही दिन नागरिकमा त्रासको वातावरण सिर्जना भएको भन्दै धमिलो पानीमा माछा मार्ने तत्त्वलाई प्रहरी माफी दिने पक्षमा नरहेको पनि एसपी जिसीले बताए। 

सवारी साधन अभाव

आन्दोलनका क्रममा बाँकेमा पनि प्रहरीको सवारी साधनमाथि आगजनी गरिएको थियो। एसपी जिसीका अनुसार आन्दोलनको आडमा अराजक समूहले वडा प्रहरी कार्यालय नेपालगन्जको मोबाइल भ्यान र इलाका प्रहरी कार्यालय कोहलपुरको वानटन गाडीमाथि आगजनी गरेका छन्। प्रहरीका दुई वटा मोटरसाइकलमा पनि आगजनी गरिएको छ। 

नेपालगन्जस्थित ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जैसपुर तथा नेपालगन्ज भन्सार कार्यालयमा रहेको प्रहरी बिटमा पनि आगजनी गरिएको छ।  

प्रहरीसँग उपलब्ध केही सवारी साधन काठमाडौं पठाइएकाले पनि सवारी साधनको संख्यामा कमी भएको एसपी जिसीले बताए। 

प्रकाशित: १२ आश्विन २०८२ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App