२६ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा अनुमति बेगर ड्रोन उडाउन प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी प्रक्रिया पूरा नगरी पूर्व स्वीकृति बिना (मानव रहित हवाई उपकरण) ड्रोन उडान प्रतिबन्ध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले शुक्रवार एक सूचना जारी गर्दै ड्रोनसँग सम्बन्धित आवश्यक कानुनी प्रक्रियाका बारेमा समेत अवगत गराएका छन्।

सूचनाको बर्खिलाप गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत प्रशासन कार्यालयले दिएको छ। प्रशासन कार्यालयले कसैले ड्रोन उडान गरेको थाह पाए त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

जिल्लाका विभिन्न स्थानमा प्रचलित कानुनको प्रतिकूल मानवरहित हवाई उपकरण उडान हुने गरेको गोप्य सूचना तथा सर्वसाधारणको गुनासो आएको भन्दै यसप्रति निगरानी बढाएको समेत प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले ड्रोन उडान सम्बन्धी कार्यविधि २०७५ बारे स्मरण गराउँदै ड्रोन अनिवार्य रूपमा दर्ता गरी उडान अनुमति लिनुपर्ने, बनोट तथा उडान तौल क्षमता अनुसार ड्रोन एवम् सोको उडान वर्गीकरण, उचाइ, उडान गर्ने समय,उडानमा संलग्न व्यक्तिको योग्यता, उडान गर्न पाइने कार्यक्षेत्र, उडान अनुमति, म्याद थप तथा नवीकरण र उडान गर्दा पालना गर्नुपर्ने सर्त तथा सर्त पालना नगरेमा हुने कारबाही समेतको सबै प्रक्रिया पूरा भएपछि मात्र ड्रोन उडान गर्न पाइने बताएका छन्।

ड्रोन दर्ता तथा उडान सम्बन्धी अनुमति नलिएको अवस्थामा इजाजत खारेजी तथा ड्रोन जफत सहित अन्य कानुनी कारबाही हुनेतर्फ प्रशासनले ध्यानाकर्षण गराएको छ।

नागरिकको गोपनीयता, व्यक्तिगत सुरक्षा र सामरिक प्रभाव समेतलाई ध्यान दिई सुरक्षा संवेदनशीलताका आधारमा ड्रोन उडान गर्नु पूर्व कानुनी प्रावधान पूरा गर्नुपर्ने समेत प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: २६ असार २०८३ १७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App