कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याइने भएको छ।
डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका ६४ मतदान केन्द्रमा चार र मुगुका ६९ मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रका मतपेटिका भोलिसम्ममा सदमुकाम ल्याइने भएको हो।
यहाँका ९४१ मतदानस्थलमध्ये ९११ मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए।
डोल्पाको डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्का ताङसोङ हुम्लाको नाम्खा गाउँपालिकाबाट पहिलो लटमा मतपेटिका र मतदान अधिकृत र दोस्रो लटमा निर्वाचन कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइने प्रवक्ता शाहले बताए।
मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट भने पैदल यात्राबाट मतपेटिका सदरमुकाम गमगढी ल्याइने उनको भनाइ छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०१:०२ शुक्रबार





