१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

विद्यार्थीमाथि अभद्र व्यवहार प्रयोग गरेको आरोपमा बलराका प्रधानाध्यापक माथी कुटपिट

सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ४ स्थित श्री रामसखी मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीहरूले विद्यालय परिसरमै कुटपिट गरेका छन्।

प्रधानाध्यापक झाले विद्यार्थीमाथि अभद्र तथा अपशब्द प्रयोग गरेको आरोपमा आक्रोशित विद्यार्थीहरूले उनलाई विद्यालय परिसरमै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। विद्यार्थीहरूको समूहले प्रधानाध्यापक झामाथि आक्रमण गर्न थालेपछि विद्यालयमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

आक्रोशित विद्यार्थीहरूले प्रधानाध्यापक झा चढ्ने टाटा नेक्सन जिपसमेत तोडफोड गरेका छन्। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बलरा र सशस्त्र प्रहरीको मधुवनी बेसबाट संयुक्त रूपमा खटिएको सुरक्षाकर्मीको टोलीले प्रधानाध्यापक झालाई जोगाएको थियो।

विद्यालयमा लामो समयदेखि कार्यरत प्रधानाध्यापक झा यसअघि पनि विभिन्न विवादमा पर्दै आएको स्थानीयको भनाइ छ। केही समयअघि विद्यालयको रंगरोगनका लागि ल्याइएको पेन्ट निजी गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा विद्यार्थी तथा अभिभावकले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रधानाध्यापक झामाथि भएको कुटपिटको घटनाप्रति बलरा नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। नगरप्रमुख रमाशंकर कुशवाहाले सामाजिक सञ्जालमार्फत घटनाको वास्तविकता पत्ता लगाउन नगर शिक्षा समितिको नेतृत्वमा छानबिन टोली गठन गर्ने बताएका छन्।

नगरप्रमुख कुशवाहाले विद्यालय शान्ति क्षेत्र भएकाले कुनै पनि पक्षबाट विद्यालयको शैक्षिक वातावरण र शान्ति-सुरक्षामा असर पर्ने गतिविधि नगर्न आग्रह गरेका छन्।

विद्यालयभित्र शिक्षक र विद्यार्थीबीच उत्पन्न विवाद कुटपिट र तोडफोडसम्म पुगेपछि घटनाले विद्यालयको अनुशासन, शिक्षक-विद्यार्थी सम्बन्ध तथा शैक्षिक वातावरणप्रति समेत प्रश्न उठाएको छ। नगरपालिकाले गठन गर्ने छानबिन समितिको प्रतिवेदनपछि घटनाको वास्तविक कारण र दोषी पक्षबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १६ भाद्र २०८३ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App