बबई नदीमा पानीको सतहले चेतावनी स्तर पार गरिसकेको छ। बबई नदीको चेपाङमा मंगलबार बिहान नदीमा पानीको सतहले चेतावनी स्तर नाघेर ७.१७ मिटर पुगेको छ। यो मापनले चेतावनी स्तर नाघेको संकेत गर्छ।
चेपाङमा राखिएको गेज रिडरमा बिहान ६ बजे पानीको सतह पहिलो चेतावनीको स्तर नाघिसकेको प्रजिअ सुरेन्द्र पौडेलले बताए। बाढी पूर्व सूचना दिन चेपाङमा जडान गरिएको गेज रिडरमा ५ मिटर ५० सेन्टिमिटर नाघेमा बाढी आउने पहिलो चेतावनी हो। पानीको सतहले पहिलो चेतावनी नाघेकाले बाढी आउने जोखिम बढेकाले सर्वसाधारणसँग प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
स्थानीय प्रशासनले पानीको सतह अझै बढ्न सक्ने उल्लेख गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासनले आफ्नो वेबसाइटमा चेपाङमा ६ मिटर मापन गरेको उल्लेख गरेको छ। बबईको बाढी चेपाङबाट गुलरियासम्म पुग्न तीन घण्टा समय लाग्ने हुनाले प्रशासनले सुरक्षा अपनाउन आग्रह गर्न नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरेको छ।
प्रकाशित: २० श्रावण २०८२ ०८:०२ मंगलबार





