१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

डिम्ब तस्करीको अरोपमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.नूतन शर्मामाथि अनुसन्धान

ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) केन्द्रमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनामा एक युवती पक्राउ परेपछि आईभीएफ विशेषज्ञ डा नूतन शर्मा माथि पनि अनुसन्धान भएको छ। 

पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएपछि अनुसन्धान सुरु भएको हो। जाहेरीका आधारमा लमजुङ घर भई ललितपुरको इमाडोलमा बस्दै आएकी २१ वर्षीया राधिका गोतामेलाई प्रहरीले पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालयको निर्देशनपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको भए पनि घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

प्रहरीका अनुसार अनुसन्धानका क्रममा गोतामेको मोबाइलबाट डा .नूतन शर्मा र उनीबीच भएको आर्थिक कारोबारसम्बन्धी विवरण फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा गत डिसेम्बर २०२५ मा डा शर्माले मोबाइल बैंकिङमार्फत गोतामेलाई दुई पटक गरी ५०।५० हजार रुपैयाँ पठाएको देखिएको छ। 

पीडित किशोरीका अनुसार उनलाई आफ्नै साथीले 'डिम्ब निकाल्दा केही हुँदैन, पैसा पनि पाइन्छ' भन्दै प्रलोभनमा पारेकी थिइन्। त्यसपछि उनलाई राधिका गोतामेको सम्पर्कमा पुर्‍याइएको र गोतामेमार्फत बीएण्डबी अस्पतालको आईभीएफ केन्द्रमा लगिएको उनले प्रहरीसमक्ष बयान दिएकी छन्। 

किशोरीका अनुसार सुरुमा हार्मोनको इन्जेक्सन लगाइएको र करिब एक सातापछि डिम्ब निकालिएको थियो। त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि उनले परिवारलाई भनेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गरिएको थियो। 

प्रकाशित: १० श्रावण २०८३ १७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App