पेरूको नाज्का लाइन्स पुरातात्विक स्थलमाथि उड्ने क्रममा एउटा सानो पर्यटकीय विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ। पेरूको यातायात तथा सञ्चार मन्त्रालयले विमानमा ११ विदेशी पर्यटक र दुई चालक दलका सदस्य सवार रहेको बताएको छ।
विमानमा जर्मन, इटालियन र स्पेनी नागरिक रहेका थिए। स्थानीय समय अनुसार दिउँसो १२:१० बजे पिस्को विमानस्थलबाट उडान भरेको एरोडियाना एयरलाइन्सको सेस्ना कारभान सी-२०८ विमान नाज्का सहरबाट करिब ६ किलोमिटर र नाज्का लाइन्सबाट करिब १९ किलोमिटर टाढा सोकोस क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
दिउँसो १:०० बजे चालक दलले नियन्त्रण टावरमा आपतकालीन अवस्थाको रिपोर्ट गरेपछि विमानसँगको रेडियो सम्पर्क टुटेको थियो। दुर्घटनापछि विमानमा भीषण आगलागी भएकाले उद्धार गर्न सम्भव भएन। दमकल र प्रहरी घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेका थिए।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। सरकारले घटनाको अनुसन्धान भइरहेको बताएको छ। एरोडियानाले एक विज्ञप्तिमा ‘सम्बन्धित अधिकारीहरूको निर्देशन अनुसार आफ्नो उडान तालिकाको मूल्यांकन गर्नेछ’ भनेको छ।
पेरूको मुख्य पर्यटकीय गन्तव्य मानिने नाज्का लाइनका विशाल रेखाचित्र र आकृतिहरू हेर्न पर्यटकहरूले साना विमानबाट अवलोकन गर्ने गर्छन्। देशको दक्षिणमा मरुभूमि मैदानमा कुँदिएका विशाल रेखाचित्रहरू र ज्यामितीय आकृतिहरू, नाज्का लाइनहरू पेरूको मुख्य पर्यटकीय गन्तव्यहरू मध्ये एक हो, जहाँ वार्षिक लगभग एक लाख पर्यटक पुग्ने गर्दछन्। पर्यटकले सामान्यतया साइटमाथि उड्ने साना विमानहरूबाट तिनीहरूलाई हेर्छन्।
यसअघि शुक्रबार तीव्र हावा र धुलोका कारण त्यस क्षेत्रका केही उडानहरू प्रभावित भएका थिए। एजेन्सी
प्रकाशित: १७ श्रावण २०८३ ०६:३८ आइतबार




-600x400.jpg)
