नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दरमा ग्यास बिक्री गर्न उद्योगीहरूलाई आग्रह गरेको छ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै आजदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँमै ग्यास बिक्री गर्न आग्रह गरेको हो।
भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौं ल्याएर बिक्री गर्दै आएका थिए। उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनुपरेको भन्दै उद्योगीले प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडाबापत थप गरेर उपभोक्तासँग लिँदै आएका थिए।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौं उपत्यकामा ग्यास बिक्री गर्दै आएका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ग्यास ल्याएर बिक्री गर्दै आएका थिए।
प्रकाशित: २ आश्विन २०८३ ०६:२२ शुक्रबार





