२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प प्रशासनद्वारा साउदीलाई ४८ एफ-३५ बेच्ने प्रस्ताव स्वीकृत, चीन र इजरायलको चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साउदी अरेबियालाई ४८ वटा एफ-३५ लडाकु विमान बेच्ने प्रस्ताव स्वीकृत गरेको छ।

करिब २४.३ अर्ब डलर मूल्यको यो प्रस्ताव अब अमेरिकी कंग्रेसको समीक्षा र स्वीकृतिको प्रक्रियामा जानेछ।

अमेरिकी विदेश विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रस्तावित बिक्रीले खाडी क्षेत्रमा राजनीतिक स्थिरता र आर्थिक प्रगतिका लागि साउदी अरेबियाको सुरक्षा क्षमता सुधार गर्न सहयोग गर्ने बताएको छ।

विदेश विभागले एफ-३५ अमेरिकासँग रहेको सबैभन्दा उन्नत लडाकु विमानमध्ये एक भएको बताउँदै यसको बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनमा परिवर्तन नल्याउने दाबी गरेको छ। अमेरिकाको लामो समयदेखिको नीतिअनुसार इजरायलले सम्भावित क्षेत्रीय विरोधीहरूमाथि सैन्य फाइदा कायम राख्नुपर्ने विषयलाई पनि बिक्रीमा ध्यान दिइएको बताइएको छ।

यो घोषणा यमनमा साउदी समर्थित सरकारी सेनासँग हुथी विद्रोहीको लडाइँ जारी रहेका बेला आएको हो। बुधबार हुथी विद्रोहीहरूले यमनको मारिब शहरमाथि साउदी एफ-१५ लडाकु विमान खसालेको दाबी गरेका थिए। उनीहरूले साउदीको चिन्ह भएको अमेरिकी निर्मित एफ-१५ विमानको भग्नावशेष देखाउने भिडियोसमेत सार्वजनिक गरेका छन्।

हुथीहरूले विमान स्थानीय रूपमा निर्मित सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रबाट खसालेको दाबी गरेका छन्। यो दाबी पुष्टि भएमा यमनमा हुथीहरूको हवाई प्रतिरोध क्षमतामा महत्वपूर्ण परिवर्तन भएको संकेत हुन सक्ने अलजजीराले उल्लेख गरेको छ। हालसम्म यमनमा साउदी सेनाले हवाई शक्तिमा तुलनात्मक रूपमा बलियो स्थिति कायम राख्दै आएको छ।

साउदी अरेबिया र हुथी विद्रोहीबीचको पछिल्लो लडाइँमा बिहीबार तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको बताइएको छ।

साउदी अरेबियाले हुथी विद्रोहीसँगको द्वन्द्वमा अमेरिकालाई प्रत्यक्ष भूमिका खेल्न आग्रह गर्दै आएको छ। तर अमेरिकाले इरान समर्थित हुथी, साउदी अरेबिया र साउदी समर्थित यमनी सरकारबीचको द्वन्द्वमा प्रत्यक्ष हस्तक्षेप नगर्ने बताउँदै आएको छ।

चिनियाँ प्रविधि पहुँचबारे चिन्ता
एफ-३५ विमान बिक्रीको प्रस्तावसँगै अमेरिकी अधिकारी र सांसदहरूले चीनले यस विमानसँग सम्बन्धित प्रविधि प्राप्त गर्न सक्ने सम्भावनालाई लिएर चिन्ता व्यक्त गरेका छन्।

यसै साता न्यूयोर्क टाइम्सले अमेरिकी गुप्तचर विश्लेषकहरूले साउदी अरेबियासँगको साझेदारीमार्फत चीनले एफ-३५ प्रविधि प्राप्त गर्न सक्ने सम्भावना बढेको निष्कर्ष निकालेको रिपोर्ट गरेको थियो।

अमेरिकी कंग्रेसका सदस्य राजा कृष्णमूर्तिले पनि यही विषयलाई लिएर बिक्रीको विरोध गरेका छन्। उनले अमेरिकी सैन्य प्रविधि चीनको पहुँचमा पुग्न सक्ने जोखिमबारे आफ्नै गुप्तचर निकायले चेतावनी दिइरहेका बेला सम्झौता अघि बढाउन नहुने बताएका छन्।

यसअघि साउदी अरेबियाले पाकिस्तान र टर्किएसँग पारस्परिक रक्षा सम्झौता गरेको थियो। यसलाई यी देशहरूले सुरक्षाका लागि वासिङ्टनमाथिको निर्भरता घटाउँदै आपसी सहयोग बढाउन खोजेको संकेतका रूपमा हेरिएको छ।

रियादले लामो समयदेखि एफ-३५ विमान खरिद गर्न चासो देखाउँदै आएको छ। तर इजरायली अधिकारीहरूले साउदीलाई यी विमान बिक्री गर्ने विषयमा चिन्ता व्यक्त गर्दै आएका छन्। इजरायल मध्यपूर्वमा एफ-३५ विमान सञ्चालन गर्ने एक मात्र देश हो।

एफ-३५ विमानको बहु-देशीय विकास कार्यक्रममा सहभागी टर्किएलाई भने सन् २०१९ मा रूसबाट एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेपछि एफ-३५ कार्यक्रमबाट हटाइएको थियो।

अमेरिकी विदेश विभागले बिक्री प्रस्ताव स्वीकृत गरे पनि यसको अन्तिम प्रक्रिया कंग्रेसको समीक्षा र स्वीकृतिपछि मात्रै अघि बढ्नेछ।

प्रकाशित: २ आश्विन २०८३ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App