७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सीमान्तकृतलाई आयआर्जनमा सहयोग

गुल्मी जिल्लामा सीमान्तकृत वर्गका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ। भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा दलित र सीमान्तकृत वर्गका नागरिकको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था र सहकारी मन्त्रालयको सहयोगमा दलित र सीमान्तकृत वर्गका लागि २० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको छ। प्रदेश सरकारले सत्यवती र चन्द्रकोटमा लक्षित समुदायका परिवारको आयआर्जनमा वृद्धि गर्दै जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम सञ्चालन गरेको हो।

समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत सत्यवती गाउँपालिका–३ को ठूलोलुम्पेक र चन्द्रकोट गाउँपालिका–७ को बोटेगाउँमा आर्थिक रूपमा विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमनाथ पाण्डेले जानकारी दिए। उनले सत्यवती गाउँपालिकामा दलित समुदायका २२ घरपरिवारलाई १० लाख र चन्द्रकोटमा सीमान्तकृत समुदायका लागि १० लाख अनुदान उपलब्ध गराइसकिएको बताए।

यो अनुदानबाट लक्षित वर्गका किसानले सत्यवतीमा २२ वटा उन्नत जातका मुर्रा भैंसीका पाडी र चन्द्रकोटमा २० घरपरिवारले उन्नत जातका बाख्रापालन गरिरहेको सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर तरामु मगरले बताए। भेटेरिनरी कार्यालयबाट त्यस समुदायका किसानका लागि गोठ सुधार, औषधि उपचार र पशुपालनसम्बन्धी तालिम उपलब्ध गराइएको छ।

सीमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका २० घरलाई प्रतिपरिवार ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिवारका लागि ४५ हजारका दरले अनुदान उपलब्ध गराइएको छ। यो अनुदान रकमले त्यहाँका समुदायले अहिले भैंसी र बाख्रापालन गरेर आयआर्जन गर्न थालेका छन्।

भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रबाट बाख्रापालनका लागि आधुनिक खोर निर्माण, बीउ बोका वितरण, घाँसका बिरुवा, जुकाको औषधि र भिटामिन उपलब्ध गराउनुका अतिरिक्त किसानलाई तालिम पनि उपलब्ध गराइएको छ। सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले लक्षित वर्गलाई प्रमुख प्राथमिकतामा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रमले दलित र सीमान्तकृत समुदायको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने बताए। कृषि र पशुपन्छी विकास कार्यक्रमअन्तर्गत जिल्लामा पहिलोपटक यो कार्यक्रम सञ्चालन गरिएको हो। रासस

प्रकाशित: २९ भाद्र २०८२ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App