विराटनगरमा बिहीबार नेपाल–भारतको सीमा सुरक्षा बैठक भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, सीमा क्षेत्रबाट हुने चोरी तस्करीलगायतका विषयमा केन्द्रीत भएर बैठक भएको हो ।
दुवै देशको सुरक्षा बैठकले निर्वाचनका लागि सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने सहमति भएको छ । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लासँग जोडिएका भारतको किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा प्रमुखको बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको हो । बैठकको सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द हुनेछ । नाका बन्द भएको अवधिमा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने बताइएको छ ।
बैठकमा नेपाली पक्षले भारतीय सुरक्षा निकालयलाई निर्वाचन प्रचारप्रसारका लागि भारतीय सवारीको प्रवेश रोक्नका लागि पनि सहयोग मागेको मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
उनका अनुसार सुरक्षा र प्रशासनिक निकायको संयुक्त बैठकमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने सहमति पनि भएको बताए ।
बैठकमा तेस्रो मुलुकका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्राको कारोबार, हातहतियार तथा अवैध नगद तस्करी जस्ता सीमापार अपराध नियन्त्रण गर्ने प्रतिबद्धता सहमति भएको कोइरालाले बताए ।
प्रकाशित: ७ फाल्गुन २०८२ २०:२५ बिहीबार





