२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

इनिशाको बलात्कारपछि हत्यामा कलाकारको एकै श्‍वर, भन्छन्: अब त केही गरौं

सुर्खेतमा भएको इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाले सुर्खेत मात्र होइन, पुरै नेपाललाई आक्रोशित बनाएको छ। उक्त क्रूर अपराधको निन्दा अब नेपाली कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत गरेका छन्।

इनिशाका आरोपीलाई फाँसीसहित कठोर सजाय दिनुपर्ने माग गर्दै गायिका एलिना चौहानले सामाजिक सञ्जालमा लेखेकी छन्, “जबसम्म बलात्कारीलाई कडा सजाय, फाँसीजस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिने जस्तो लाग्दैन। नेपालमा मानिसको ज्यान लिन सजिलो हुँदै गएको छ। अब त केही गरौँ, कहिलेसम्म र कति पछि बन्द हुन्छन् यस्ता घटनाहरू?”

त्यसैगरी गायिका रचना रिमालले पनि आरोपीप्रति आक्रोश व्यक्त गर्दै कडा सजायको माग गरेकी छन्। उनले बुधबार सामाजिक सञ्जालमा लेखेकी छन्,

“हामी सबैले एउटा आवाज उठाउनैपर्छ।

छोरीहरूलाई चुप लाग्न बाध्य बनाउने होइन, न्याय दिलाउने।

अपराधीलाई जोगाउने होइन, कडा सजाय दिलाउने।

पीडितलाई दोष दिने होइन, उनलाई साथ दिने।

अब मौन बस्ने समय सकिएको छ।

छोरीहरूको सुरक्षा कुनै विकल्प होइन, यो अधिकार हो।”

सरकारलाई प्रश्न गर्दै उनले थपेकी छन्, “यो देशमा निर्मला पन्त, निरु विक र इनिशा विक जस्ता पीडितले कहिले न्याय पाउँछन्?” 

अभिनेत्री तथा राजनीतिज्ञ निशा अधिकारीले पनि यो दर्दनाक घटनामा कारबाहीको माग गर्दै लेखेकी छन्, “सुर्खेतमा १६ वर्षीया इनिशा विक, एक नाबालिकाको बलात्कारपछि हत्या गरिएको घटनाले हाम्रो समाजको सबैभन्दा कुरूप अनुहारलाई एकपटक फेरि उदाङ्गो पारिदिएको छ।”

दलित किशोरीमाथि हुने यस्ता अपराधको अन्त्य गर्न माग गर्दै उनले थपेकी छन्, “यस्तो पाशविक अपराधका दोषीमाथि तुरुन्त र निष्पक्ष छानबिन गरियोस् र कडा भन्दा कडा सजाय दिइयोस्। नाबालिका र दलितमाथि हुने यस प्रकारका अपराधको अन्त्य हुने व्यवस्था गर्न हामी सम्बन्धित सबैसँग जोडदार माग गर्दछौँ।”

घटनाप्रति आक्रोश अब सामाजिक सञ्जालमा मात्र सीमित नभई सडकमा पनि देखिएको छ। वीरेन्द्रनगरमा यस घटनाको विरोधमा र्‍याली निकालिएको छ। उक्त घटना सामान्य नभई महिलाको अधिकार र सुरक्षामाथि गम्भीर आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आक्रोश व्यक्त भइरहेको छ।

सुर्खेत जिल्ला वीरेन्द्रनगर क्षेत्र–१ स्थित सामुदायिक वनमा १६ वर्षीया इनिशा मृत फेला परेकी थिइन्। पीडित परिवारका अनुसार उनलाई बलात्कारपछि हत्या गरिएको हो। ट्युसन पढ्न जाँदैछु भनेर घरबाट निस्किएकी इनिशा जंगलमा मृत अवस्थामा भेटिएकी थिइन्। उनी कक्षा ११ की छात्रा थिइन्।

उक्त घटनाबारे दलित महिला संघले प्रेस विज्ञप्ति जारी गर्दै केही मागहरू अघि सारेको छ। संघले घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर अनुसन्धान गर्न, दोषीलाई कुनै पनि बहाना वा प्रभावका आधारमा उन्मुक्ति नदिन, अभियुक्तको उमेर घटाएर कारबाहीबाट बचाउने प्रयास नगर्न तथा पीडित परिवारलाई न्याय, सुरक्षा र आवश्यक सहयोग सुनिश्चित गर्न माग गरेको छ।

यसैगरी अभिनेत्री पूजा शर्माले पनि दोषीलाई कडा सजाय दिनुपर्ने माग गरेकी छन्।

प्रकाशित: २७ फाल्गुन २०८२ १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App