१ असार २०८३ सोमबार
image/svg+xml
समाज

चेक अनादर मुद्दामा धमाधम पक्राउ

चेक अनादर मुद्दामा रौतहट प्रहरीले एकै दिन १६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जेठ १२ गते नियन्त्रणमा लिएका १६ जनामध्ये १२ जना चेक अनादर मुद्दाका अभियुक्त रहेका छन्।  

चेक अनादर मुद्दामा पक्राउ परेकाहरुमा रौतहटको चन्द्रपुर नगरपालिका २ का सोभीलाल चौधरी, चन्द्रपुर १ का श्यामबहादुर भोलन तामाङ, वृन्दावन नगरपालिका ६ का मुकेशकुमार जयसवाल, ८ का लक्ष्मी राउत र मनोज राउत भेडिहर रहेका छन्। जयसवालमाथि चेक अनादरका दुई मुद्दा रहेका छन्।

यसै गरी माधव नारायण नगरपालिका १ का हरेन्द्र साह कलवार, ३ का सिपाही राय यादव, कटहरिया नगरपालिका १ विनोद राय यादव, ६ का शेख बच्चाबाबु र गरुडा नगरपालिका ५ का विन्देश्वर साह कलवार चेक अनादर मुद्दामा प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले गढीमाई नगरपालिका ४ का विक्रम ठाकुर, कृष्ण ठाकुर र उतिम नारायण ठाकुरलाई कुटपिट मुद्दामा नियन्त्रणमा लिएको जनाएको छ। रौतहट प्रहरीले फतुवा विजयपुर नगरपालिका ३ का दुखा साह कानुलाई बालबालिका विरुद्धको कसुर मुद्दामा नियन्त्रणमा लिएको छ।   

जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट फरार व्यक्तिहरुलाई पक्राउ गरी कानुन कार्यान्वयन गर्न सक्रिय देखिएको हो। पक्राउ परेका सबैलाई सम्मानित रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी गराएका छन्।   

यसैबिच जिल्ला प्रहरी कार्यालय रौतहट र ट्राफिक प्रहरी कार्यालय गौरबाट संयुक्त रुपमा खटिएको टोलीले गौरको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा स्वरुप परिवर्तन गरी चलाएका दुई मोटरसाइकल नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको दुवै मोटरसाइकल भारतीय नम्बर प्लेटका रहेका छन्।  

दुवै मोटरसाइकलको धुवा फाल्ने साइलेन्सर लगायत विभिन्न पार्टपुर्जाहरु मोडिफाइ गरिएको अवस्थामा बिआर ०१ सिए ५१११ नम्बरको रोयाल इन्फिल्ड र बिआर ०५ एडि ३२१७ नम्बरको अपाचे मोटरसाइकलहरु रहेका छन्। 

नियन्त्रणमा लिइएका दुवै मोटरसाइकललाई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय गौरमा पठाइएको प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी गराएका छन्।   

प्रकाशित: १४ जेष्ठ २०८३ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App