जेन-जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियार लुकाएर राखेको आरोपमा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली घर भई हाल काठमाडौं महानगरपालिका-३२ सहयोगीनगरमा बस्दै आएका २१ वर्षीय मनोज ढुंगाना रहेका छन्।
उनको साथबाट प्रहरीले १ थान ग्यास गन, १ थान मोबाइल र भिड नियन्त्रणमा प्रयोग हुने १ थान लेग गार्ड बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियार तथा गोलीगट्ठा ढुंगानाले आफ्नो कोठामा लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटाइएको थियो।
बिहीबार बिहान उनको कोठामा खानतलासी गर्दा उक्त सामग्री फेला परेपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका ढुंगानालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ कार्तिक २०८२ १८:१८ शनिबार





