१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

संवेदनशील अवस्थामा अफवाह नफैलाउन सेनाको आग्रह

नेपाली सेनाले संवेदनशी अवस्थामा अफवाह फैलाउने काम नगर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले सामाजिक सञ्जालमा अफवाह फैलाउन नहुने जनाएको छ ।

गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्य बनाउने क्रममा नेपाली सेनाले खेलेको भूमिकाबारे समाजका विभिन्न तह–तप्काबाट आएका सुझाव, प्रतिक्रिया र समालोचनात्मक अभिव्यक्तिप्रति सेनाले धन्यवाद व्यक्त गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने प्रभावलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी यथाशीघ्र शान्ति–सुरक्षा कायम गर्नका लागि आवश्यक पहल गरिएको उल्लेख गरेको छ। “विभिन्न विद्वान्, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकबाट प्राप्त राय–सुझावप्रति हार्दिक आभार प्रकट गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

सेनाले हालको संवेदनशील अवस्थामा संस्था र नेतृत्वलाई जोडेर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरूमा आएका टिका–टिप्पणीले ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ।”

त्यसैगरी, नेपाली सेनाले आफ्नो सम्बन्धमा सही र यथार्थपरक जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गरेको छ। सेनाले अफवाह वा अपुष्ट समाचारमा विश्वास नगरी सत्य सूचनामार्फत जिम्मेवार पत्रकारिता र नागरिक सचेतनाको अपेक्षा पनि गरेको छ।

प्रकाशित: २४ आश्विन २०८२ १८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App