अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धारमा नेपाली सेना सक्रिय रूपमा खटिएको छ।
आइतबार साँझसम्मको विवरणअनुसार, सेनाले अन्य सुरक्षा निकाय र स्थानीयसँगको समन्वयमा मोरङ, झापा र इलामका विभिन्न स्थानबाट ७० जनाभन्दा बढी मानिसको सकुशल उद्धार गरेको छ।
सबैभन्दा बढी प्रभावित झापामा सेनाले हवाई तथा स्थलमार्ग दुवैबाट उद्धार कार्यलाई तीव्रता दिएको छ।
झापा गाउँपालिका-१, मिलनबस्तीमा माई खोलाले हुलाकी राजमार्ग कटान गर्दा फसेका करिब ८० जनामध्ये सेनाको हेलिकप्टरमार्फत १६ जना र मोटरबोटबाट २० जनाको उद्धार गरिएको छ।
काठमाडौंबाट विशेष उपकरण र दक्ष जनशक्तिसहित गएको हेलिकप्टरले बाँकी व्यक्तिहरूको उद्धार कार्य जारी राखेको सेनाले जनाएको छ।
यसैगरी, झापा गाउँपालिकाकै वडा नं. १, २ र ६ का डुबानमा परेका बस्तीहरूबाट सेनाले थप ३९ जनालाई मोटरबोटमार्फत उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।
मोरङको कटहरी गाउँपालिका-४, नयाँबजारस्थित सुकुम्बासी टोल लोहन्द्रा खोलाको बाढीले डुबानमा परेपछि सेनाको टोलीले त्यहाँ फसेका ६ जना बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ।
नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयसँगको समन्वयमा बाढीपहिरो प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
प्रकाशित: १९ आश्विन २०८२ १८:४३ आइतबार




