२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

राष्ट्रका नाममा प्रधानसेनापतिको सम्बोधन: आन्दोलन स्थगन गरी वार्तामा आउन अपिल

प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकमा हाल भइरहेको आन्दोलन र त्यसबाट भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै शान्ति र संयम कायम गर्न अपिल गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आन्दोलनकारीहरूलाई कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेका छन्।  

उनले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सधैं प्रतिबद्ध छ। आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्छु र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्छु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।’  

उनले थप जनधनको क्षति रोक्न र शान्ति, सुरक्षा, अमनचयन, राष्ट्रिय एकता र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व भएको उल्लेख गरे। उनले भने, ‘राष्ट्रिय एवं ऐतिहासिक सम्पदा, सार्वजनिक र नागरिकको सम्पत्ति, मित्रराष्ट्रका कूटनीतिक नियोग र नागरिकको सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हाम्रो साझा कर्तव्य हो।’  

प्रधानसेनापतिले वर्तमान असहज परिस्थितिलाई शान्तिपूर्ण तवरले समाधान गर्न आन्दोलनकारी समूहलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आग्रह गरेका छन्। उनले सम्बोधनको अन्त्यमा भने, ‘जय मातृभूमि, जय देश।’

प्रकाशित: २४ भाद्र २०८२ २१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App