भारतीय तस्करसँग घुस लिँदै गरेको भिडियो सार्वजनिक भएपछि सर्लाहीमा कार्यरत सशस्त्र प्रहरीका दुई कर्मचारी कारबाहीमा परेका छन्।
सशस्त्र प्रहरी बलको सखुअवा बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लेखराज विष्ट र हवलदार सुमन चौधरीमाथि कारबाही पक्रिया अघि बढाइएको हो।
गत भदौ ८ गते मध्यरातमा खिचिएको भिडियोमा सई विष्ट र हवल्दार चौधरीले भारतीय तस्करसँग २२ हजार रुपैयाँ घुस लिएको देखिन्छ।
तस्कर समूह आफैंले खिचेर सार्वजनिक गरेको उक्त भिडियोमा, सीमा क्षेत्रमा बोलाएर उनीहरूले तस्करीको ‘लाइन मिलाउन’ पैसाको बिटो हातमा लिएर गनेको दृश्य कैद छ।
सशस्त्र प्रहरी १० नम्बर गण सर्लाहीका प्रमुख एसपी देवबहादुर चन्दले भिडियो सार्वजनिक भएलगत्तै दुवै जनालाई गणमा तानिएको र उनीहरूमाथि छानबिन गर्न एक विशेष टोली गठन गरिएको जानकारी दिए।
‘घटनाबारे जानकारी हुनासाथ हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेका छौं,’ एसपी चन्दले भने, ‘दोषी पाइए कडा कारबाही हुन्छ।’
सशस्त्र प्रहरी बल टावर गुल्म मलंगवाका प्रमुख डीएसपी सुमन ढुंगानाले पनि घटनाबारे अनुसन्धान भइरहेको बताए।
स्थानीयका अनुसार, उक्त सीमा क्षेत्रबाट रातिको समयमा नेपालबाट काठ, चाइनिज मोटर, स्याउ र मदिरा तथा भारतबाट कपडा, स्पेयर पार्ट्स र दैनिक उपभोग्य वस्तुहरूको संगठित तस्करी हुने गरेको छ।
सुरक्षाकर्मीकै मिलेमतोमा राति ११ बजेदेखि ३ बजेसम्म तस्करी मौलाउने गरेको उनीहरूको आरोप छ।
हेर्नुहोस् भिडियो:
प्रकाशित: ११ भाद्र २०८२ २१:३७ बुधबार





