२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

जीवन के हो ?

मेरो पुस्तक ‘एन्टिभेसिस’ बजारमा आएको करिब एक वर्ष भयो । पुस्तकमाथि समीक्षक र पाठकका प्रतिक्रियाले रोमाञ्चित भइरहँदा वर्ष दिन बितेको पत्तै भएन । यो एक वर्षमा म चुपचाप बसिरहँदा मेरा पाठक र सुभचिन्तकले झक्झक्याइरहनु भएको छ । परन्तु, लेख प्रकाशन गरे तापनि यो बीचमा म विभिन्न अनुसन्धानमूलक कार्यमा सक्रिय रहेँ । मलाई लेखन कार्यमा सक्रिय देख्न चाहनुहुने तपाईं पाठक र शुभचिन्तकप्रति न्यानो अभिवादन ! एक वर्षपछि आज म तपाईंहरूमाझ अलिक भिन्न विषय लिएर उपस्थित भएको छु । विषय छ- जीवन के हो ?

जीवनका बारेमा भिन्न दृष्टिकोण र निष्कर्ष लिएर उपस्थित हुनुको मुख्य उद्देश्य मान्छेले जीवनमा अनुभूति गर्ने तमाम खुसी र भोग्ने अनगिन्ती दुःख-पीडाका अलावा मृत्युलाई समेत सामान्य ढंगले लिन सकियोस् भन्ने हो । जीवनको यात्रामा घट्ने अनिवार्य घटनालाई ठीक ढंगले बुझ्न नसक्दा जीवन कष्टपूर्ण हुन पुग्छ । कतिपय अवस्थामा नजिकको मान्छेको मृत्युका कारण परिवारको अर्को सदस्य ‘हर्ट अट्याक’ भएर मरेको सुनिन्छ । जीवनमा आइपर्ने अनिवार्य घटनालाई सामान्य रूपमा लिन नसक्दा कोही डिप्रेसनको अवस्थामा पुगेको पाइन्छ, त कोही जीवनभर विक्षिप्त भएर गरिखान नसक्ने अवस्थासम्म पुग्छन् । यति मात्र होइन, नजिकको मान्छेको मृत्युले आत्महत्याको स्थितिसम्म पुगेको सुनेका र देखेका छौँ । त्यसकारण, जीवनमा आइपर्ने दुःख-पीडा, खुसी, सफलता-असफलता आदि मात्र होइन, मृत्युलाई समेत सामान्य ढंगले लिन सकियोस् भनेर यो लेख तयार पारेको छु । म विश्वास गर्छु, यो लेखले तपाईंको जीवन दृष्टिकोणमा परिवर्तन ल्याउनेछ ।

यदि तपाईंले मेरो पुस्तक एन्टिथेसिस पढ्नु भएको छ भने तपाईंलाई याद हुनुपर्छ, पुस्तकमा मैले जीवनका बारेमा एउटा निष्कर्ष पेस गरेको छु- ‘जीवन अप्रकाशित पुस्तक हो, निरन्तर सम्पादन गर्नुपर्छ ।’ मेरो यो निष्कर्षले मान्छे परिवर्तनकारी र सफल बन्ने कुरामा मात्र योगदान गर्दछ । तर, जीवनका बारेमा आज जुन दृष्टिकोण पेस गर्दैछु, तपाईंका लागि यो बिल्कुलै भिन्न र रोमाञ्चक पनि हुन सक्छ । मैले यो लेख तयार गर्दै गर्दा विभिन्न विख्यात दार्शनिक, वैज्ञानिक र चिन्तकका जीवन दृष्टिकोण र परिभाषा अध्ययन गर्ने जमर्को गरेको छु । जीवनका बारेमा उहाँहरूले अगाडि सार्नुभएका परिभाषा यस्ता छन् ।

जीवनमा धेरै फरक अध्यायहरू छन् । एउटा नराम्रो अध्याय आउँदैमा किताबको अन्त्य हुन नदिनुहोस्- बुद्ध

जीवन भनेको परीक्षण हो । जाँच नगरिएको जीवन बाँच्न लायक छैन- सुकरात

कुनै विचारलाई स्वीकार नगरीकनै मनोरञ्जन गर्न सक्षम हुनु शिक्षित मान्छेको पहिचान हो- एरिस्टोटल

मानिसले जति धेरै राम्रा विचारहरूमा मध्यस्थता गर्छ, उसको संसार र समग्र संसार त्यति नै राम्रो हुनेछ- कन्फ्युसियस

जीवन प्राकृतिक र सहज परिवर्तनहरूको श्रृंखला हो । वास्तविकतालाई वास्तविकता नै रहन दिनुहोस् । चीजहरूलाई स्वाभाविक रूपमा जसरी मन लाग्छ अगाडि बढ्न दिनुहोस्- लाओत्से

जीवन पियानो जस्तै हो, तपाईंले यसबाट के पाउनुहुन्छ भन्ने कुरा तपाईंले यसलाई कसरी बजाउनुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ- अल्बर्ट आइन्स्टाइन

यसरी बाँच कि मानौँ तिमी भोलि नै मर्दैछौ, यसरी सिक कि मानौँ तिमी सधैँभरि बाँच्नेछौ। बाँच्नु र सिक्नुको अर्को नाम नै जीवन हो- महात्मा गान्धी

यदि तपाईं ठूला काम गर्न सक्नुहुन्न भने साना कामहरू राम्रो तरिकाले गर्न सक्नु नै जीवन हो- मार्टिन लुथर किंगजूनियर

धेरैले भनेको सुनिन्छ, जीवन संघर्ष हो । कसैले भन्छन्, जीवन यात्रा हो । कतिपयले भन्छन्, जीवन अरोह-अवरोहको अर्को नाम हो । हो, कतिपय अवस्थामा जीवन संघर्ष जस्तै लाग्छ, कतिपय अवस्थामा जीवन यात्रा जस्तो पनि लाग्छ, कतिपय अवस्थामा जीवनमा औधी सुखको अनुभूति हुन्छ त कतिपय अवस्थामा जीवन दुःख नै दुःखको पहाड जस्तो पनि लाग्छ ।

र, यो पनि सत्य हो कि कतिपय अवस्थामा नारायण गोपालको सुमधुर स्वरमा गाइएका पीडा, व्यथा र भावनाका गीत जस्तै लाग्छ, जीवन । कतिपय अवस्थामा ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ भन्ने जीवन शर्माको क्रान्तिकारी गीत जस्तो लाग्छ, जीवन । कतिपय अवस्थामा माया-प्रेमले भरिएको मीठो गजल जस्तो लाग्छ, जीवन। कतिपय अवस्थामा कवितामा कुँदिएका सुन्दर शब्दजस्तो लाग्छ, जीवन । तपाईंको बुझाइमा चाहिँ जीवन के हो ? यो लेख पढिसकेपछि कमेन्ट गर्नुहोला । तर, म भन्छु- ‘जीवन सपना हो ।’

मेरो पछिल्लो निष्कर्षले भन्छ– जीवन सपना हो । किनकि, बोल्दाबोल्दै, हिँड्दाहिँड्दै र खाँदाखाँदै मर्न सकिन्छ । सुतेकै ठाउँमा कहिल्यै नबिउँझिने गरी निभ्न सकिन्छ । कुनै नसोचेको संयोगले एकाएक सम्बन्धहरू बन्छन् र कुनै घटनाले निमेषभरमा सकिन्छन् । जीवनमा कुनै पल खुसीको सीमा हुँदैन त कुनै पल दुःख र कष्ट थेगिनसक्नु हुन्छ । जीवनमा घट्ने यावत् घटनाहरू ठ्याक्कै केसँग मेल खान्छ भनेर हेर्ने हो भने सपनासँग मेल खान्छ । त्यसकारण, जीवन केवल सपना हो ।

कहिले पीडादायी सपना देखेर सपनामै घुँक्क हुनेगरी रुन पुगिन्छ । कहिले मनै फुरुङ्ग हुने सपना देखेर सपनामै खित्का छोडेर हाँस्न पुगिन्छ ! कहिलेकाहीँ डरलाग्दा सपना देखेर झल्याँस्स बिउँझिन पुगिन्छ । कहिले यस्ता सपना देखिन्छ, जुन बिचैमा टुटेकामा पश्चात्ताप हुन्छ । सपनामा कहिले मनमोहक ठाउँमा पुगिन्छ त कहिले अप्ठ्यारो । जीवन पनि ठीक यस्तै त हो । त्यसकारण, जीवन सपना हो ।

मूलतः सपना विपनाको अर्को रूप हो । सपना राम्रो देख्न विपनामा राम्रो जीवन बाँचेको हुनुपर्छ । विपनामा जे देखिन्छ, सुनिन्छ, अनुभूति गरिन्छ, तिनै कुराको प्रतिविम्बन हो, सपना । राम्रा सपना देख्न निराशापूर्ण खराब जीवन बाँच्नु हुँदैन । सपना भनेको अभावको अर्को नाम पनि हो । तपाईंले जीवनमा चाहेको कुरा पूरा भएको छैन भने त्यही अभाव सपनामा प्रकट हुने हो । जस्तो कि, तपाईं रोजगारी नपाएर जीवनमा हैरान हुनुहुन्छ भने सपनामा रोजगारी पाएको वा तपाईंको सपना जागिरको वरिपरि रहन्छ । तपाईं सम्पन्न हुनुहुन्छ भने जागिर होइन, घुमफिर र मनोरञ्जनवाला सपना देख्नु हुन्छ ।

जसरी सपना देखिरहँदा हामी झल्याँस्स बिउँझिन्छौँ, ठीक त्यसैगरी कुनै दिन फ्यास्स मर्छौँ पनि। जसरी झल्याँस्स बिउँझिए पछि सपनाको कुनै अर्थ छैन । ठीक त्यस्तै, मरेपछि जीवनको पनि कुनै अर्थ छैन । न त माया, न त परिवार, न त साथीभाइ, न त धन-सम्पत्ति, न त यात्रा, न त आरोह-अवरोह नै ! गाडून् कि जलाऊन्, आफन्त र साथीभाइ रोऊन् कि हाँसून्, कुनै मतलबको कुरा भएन ! 

तपाईंले सुन्नुभएको होला, परिवारमा नजिकको मान्छे बित्दा बाँच्नेहरूका बीचमा कुरा हुन्छ- ‘उहाँ बितेको जस्तो अझै लागेको छैन !’, ‘उहाँ बितेको सुन्दा सपनाजस्तो लागिरहेको छ !’ आदि इत्यादि । अझ परिवार वा साथीभाइमा भर्खरको मान्छे बितेको कुरा त हामीलाई झनै सपना जस्तो लाग्छ ! टिकटकमा चर्चित जोडीका रूपमा परिचित अमेरिकामा अल्पायुमै मृत्यु भएका बिबेक पँगेनीको मृत्युलाई उनकी श्रीमती सृजना सुवेदीको आँखाबाट हेर्नुस् त ! जीवन सपना मात्र होइन, कहालीलाग्दो सपना हो । 

बलात्कारपछि पासविक हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तकी आमा दुर्गादेवीका आँखाबाट निर्मलाको जीवनलाई हेर्नुस् । २०७२ वैशाख १२ मा आएको भूकम्पका कारण धरहरा ढल्दा मृत्यु भएका दर्जनौँ मान्छेका आफन्तको आँखाबाट मृतकलाई हेर्नुस् ! अझ तपाईंले हमासको कब्जामा परेका विपिन जोशी र उनका बुबाआमाका आँखाबाट जीवनलाई हेनुस् त ! सृजना सुवेदी हुन् वा दुर्गादेवी, धरहरा ढल्दा मृत्यु भएकादेखि विपिन जोशी र उनका आफन्तसम्म सबैका लागि जीवन सपना नै हो । चट्याङ लागेर, खोलाबाढी र पहिरोमा परेर वा गाडी-बाईक दुर्घटना भएर सेकेन्डभरमा मृत्यु भएका मान्छेका आफन्तलाई पनि जीवन सपनाभन्दा फरक कहाँ लागेको होला र !

भोलिका दिनमा विज्ञानले मृत्युलाई पनि टार्न सक्छ । तर, आजसम्मलाई हेर्दा प्रकृतिको अनिवार्य सर्त मृत्युलाई मान्छेले किन असामान्य ढंगले लियो ? अनिवार्य घटनाबाट समेत मान्छे किन विक्षिप्त हुन पुग्यो । किनकि, जीवनलाई प्राकृतिको अनिवार्य नियम र गतिशीलताका आधारमा होइन, रुढिवादी चेतनाका कोणबाट हेरियो । त्यसकारण, जीवन जटिल र पीडाको विषय बन्न पुग्यो ।

जीवनप्रतिको अवैज्ञानिक चेतनाका कारण मान्छे पीडा र दर्दबाट मुक्त हुन सकेन । अझ भनौँ, अवैज्ञानिक चेतनाका कारण मान्छेले जीवनलाई बन्धक बनायो । तर, २१ औं शताब्दीको मानव मष्तिस्कले प्रकृति र गतिशीलताको नियम बुझ्ने सामार्थ्य राख्नुपर्दछ । वैज्ञानिक चिन्तन प्रणालीमा आधारित ज्ञानले मात्र जीवन भव्य हुन सक्दछ । यो अवस्थामा मात्र मान्छेले जटिल स्थितिलाई पनि सहजर सामान्य ढंगले लिन सक्दछ । वैज्ञानिक चेतनाद्वारा निर्दिष्ट जीवनमा ऊर्जावान् र सार्थक जीवन हुन सक्दछ । जीवन ऊर्जावान् भए सपना स्वतः राम्रा देखिन्छ । त्यसकारण, जीवन सपना हो ।

(लेखक,पुस्तक ‘एन्टिथेसिस- ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म’का लेखक हुन्) ।

प्रकाशित: २० श्रावण २०८२ २१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App