नेपाल प्रहरीले भोटेकोशी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्त्वपूर्ण कागजात फेला परेमा आफूसँग नराख्न र बिक्री-वितरण नगर्न आग्रह गरेको छ।
आइतबार एक भिडियो जारी गर्दै प्रहरीले फेला परेको सामान नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो। प्रहरीका अनुसार बाढीका कारण धेरै सर्वसाधारणका सुनचाँदी, नगद, एटीएम, चेकबुक, नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण कागजात तथा धनमाल हराएका छन्।
फेला परेको धनमाल वा कागजात आफूखुसी प्रयोग गर्ने, लुकाउने, आफूसँग राख्ने वा खरिद-बिक्री गर्ने कार्य मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कसूर हुने प्रहरीले बताएको छ। त्यस्तो कार्यमा संलग्नमाथि कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ।
हराएको धनमाल वा कागजातबारे कुनै सूचना भए तत्काल प्रहरीलाई खबर गर्न र फेला परेको सामान वास्तविक हकदारलाई फिर्ता गर्न सहयोग गर्न प्रहरीले आग्रह गरेको छ। सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने प्रहरीले जनाएको छ।
प्रकाशित: २१ भाद्र २०८३ १०:१४ आइतबार





