तीनकुनेमा भएको प्रदर्शनको मुख्य आरोपीका रूपमा पक्राउ परी डिल्लीबजार कारागारमा रहेका व्यवसायी दुर्गा प्रसाईंले अपिल जारी गरेका छन्।
आफ्नो सचिवालयमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको ६ पृष्ठ लामो पत्रमा उनले आफूलाई सरकार, माफिया र तस्करको गठजोडले फसाएको आरोप लगाउँदै आफ्ना समर्थकहरूलाई देश बचाउने अभियान नरोक्न आह्वान गरेका छन्।
पत्रमा प्रसाईंले आफ्नो वर्तमान कारावासलाई जीवनको दोस्रो ठूलो संघर्षको रूपमा चित्रण गरे। उनले ऋण र व्यावसायिक तनावका कारण आत्मदाह गरेका इलामका प्रेम आचार्यको संघर्षलाई सम्झँदै आफ्नो विगतको पीडालाई पहिलो ‘जेलनेल’ को रूपमा व्याख्या गरेका छन्।
उनले लेखेका छन्, ‘जब आत्मदाह गरेर जलेर छियाछिया भएको मुटुलाई पूर्ण जलाएका प्रेमको सुसाइड नोट पढेँ, पहिलो पटक म भत्केको थिएँ। ढाँटेर रोएको थिएँ। प्रेमको त्यो कष्टपूर्ण व्यावसायिक यात्रामा मैले मेरा पनि दुःखका दिन देखेपछि मलाई अब भावनामा आँशु बगाएर हुँदैन भन्ने भान भएको थियो।’
व्यवस्थाले सिर्जना गरेको मानसिक र आर्थिक पीडालाई पहिलो कैदको रूपमा उल्लेख गर्दै उनले अहिलेको भौतिक कैदलाई त्यही व्यवस्थाविरुद्धको संघर्षको दोस्रो चरणको रूपमा प्रस्तुत गरे।
प्रसाईंले चैत १५ गतेको आन्दोलन नै आफ्नो गिरफ्तारीको मुख्य कारण भएको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘मलाई यो कुरामा विश्वास छ किनकी १५ गते तिनकुनेमा त म नआउँदै प्रहरीले त्यो क्षेत्रलाई कुरुक्षेत्र बनाईसकेको थियो। अश्रु ग्यासले कुहिरिमण्डल बनाएको थियो, गोली चलाईरहेको थियो।’
आफू गाडीबाट ओर्लिएर साथीहरूसँग गीत गाउँदै अघि बढ्दा प्रहरीले नै स्थितिलाई भड्काएर आफूलाई सिध्याउने योजना बनाएको उनको गम्भीर आरोप छ।
प्रसाईंले आफ्नो अभियान कुनै व्यक्तिगत स्वार्थका लागि नभई देशको धर्म, संस्कृति र सार्वभौमसत्ता बचाउनका लागि भएको जिकिर गरेका छन्।
उनले आफ्नो अभियानको मुख्य लक्ष्य नै नेपाललाई सनातन धर्म सापेक्ष र राजतन्त्रात्मक शासन व्यवस्था युक्त मुलुक बनाउनु रहेको उल्लेख गरे।
आफ्नो ज्यानको बाजी लगाएर यो अभियानमा लागेको बताउँदै उनले लेखेका छन्, ‘धर्म हराएको आजको नेपाललाई सनातन धर्म सापेक्ष मुलुक... राजतन्त्रात्मक शासन व्यवस्था युक्त मुलुक बनाउने अभियान... औपचारिक घोषणा मैले म बन्न होइन, म मरेर भएपनि देश बनाउन घोषणा गरेको हुँ।’
आफू जेलमा हुँदा अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै प्रसाईंले आफ्ना समर्थकहरूलाई निराश नहुन आग्रह गरेका छन्।
उनले पत्रको अन्त्यमा लेखेका छन्, ‘जो वास्तवमै पीडामा हुनुहुन्छ चिन्ता नगर्नुस्, सूर्यमा सधैँ ग्रहण लाग्दैन। एक दिन त खुल्ला नि आकाश अनि उज्यालो हुनेछ धर्ती। हामी मिलेर बनाउँला सुन्दर नेपाल, हाम्रो नेपाल, आहा भन्न लायक नेपालीले भरिभराउ नेपाल।’
प्रकाशित: ११ श्रावण २०८२ १९:४३ आइतबार





