२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

गौरका छाडा छाडिएका कुकुरलाई एन्टीरेबिज खोप हानिँदै

रौतहटको सदरमुकाम गौरमा छाडा तथा भुसिया कुकुरबाट मानिसमा सर्न सक्ने रेबिज रोगको जोखिम न्यूनीकरण गर्न कुकुरलाई एन्टी–रेबिज खोप लगाउन थालिएको छ।

सामाजिक अभियन्ताहरूको पहलमा गौरमा सञ्चालन गरिएको निःशुल्क खोप अभियान अन्तर्गत पशु चिकित्सकको टोलीले पहिलो दिन ३० वटा छाडा कुकुरलाई एन्टी–रेबिज खोप लगाइएको छ।

सदरमुकामका विभिन्न क्षेत्रमा छाडा अवस्थामा घुमिरहेका कुकुरलाई समातेर खोप लगाइएको हो। अभियानअन्तर्गत खोप लगाउन बाँकी रहेका कुकुरलाई समेत क्रमशः खोप लगाउँदै जाने चिकित्सकले जनाएको छ।

छाडा कुकुरको टोकाइबाट मानिसमा रेबिज संक्रमणको जोखिम रहने भएकाले कुकुरलाई समयमै खोप लगाएर त्यसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको स्थानीय जितेन्द्र दासले बताए ।

कुकुरको स्वास्थ्य संरक्षणसँगै समुदायमा रेबिज रोगबारे जनचेतना फैलाउने उद्देश्यसमेत अभियानले लिएको छ।

गौर नगरपालिकाका शिक्षाप्रेमी तथा सामाजिक अभियन्ता सन्तोष पौडेलले गौरमा छाडा कुकुरलाई एन्टी–रेबिज खोप लगाएर समुदायको सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले पहिलोपटक यस्तो अभियान सञ्चालन गरिएको बताए।

‘कुकुरको स्वास्थ्य संरक्षणसँगै मानिसलाई रेबिजको जोखिमबाट जोगाउनु हाम्रो उद्देश्य हो,’ पौडेलले भने। उनले अभियानमा साथ, सहयोग र सहभागिता जनाउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

घुम्ती शिविर सामाजिक अभियन्ता पौडेलको प्रायोजनमा तथा डा. सुभाष एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, गौर, रौतहटको सहयोगमा आयोजना हुन लागेको हो।

रेबिज रोगबाट बच्न समयमै खोप लगाउनुपर्ने जनचेतना फैलाउने उद्देश्यले उक्त शिविर आयोजना गर्न लागिएको हो।  

रेबिज रोगको जोखिम न्यूनीकरणका लागि कुकुरलाई नियमित रूपमा एन्टी–रेबिज खोप लगाउनु आवश्यक रहेको भन्दै आयोजकले घरपालुवा कुकुरका धनी तथा सरोकारवालालाई समेत खोप अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

छाडा कुकुरको व्यवस्थापन र पशु स्वास्थ्यप्रति समुदायको चासो बढिरहेका बेला सञ्चालन गरिएको यो अभियानले गौरमा पशु स्वास्थ्य तथा जिम्मेवार कुकुर पालनसम्बन्धी जनचेतना अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ श्रावण २०८३ १६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App