३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

फुङलिङको नयाँ बसपार्क सञ्चालनको घोषणा

सडक मार्गमा सवारी पार्किङ गर्न रोक लगाउने नगरपालिकाको तयारी

करिब १० करोड रुपैयाँको लगानीमा फुङलिङ नगरपालिकामा वडा नं ४ मा निर्मित नयाँ बसपार्क बिहीबारबाट दोस्रो पटक सञ्चालनमा लगिएको घोषणा गरिएको छ।

नगर प्रमुख अमिर मादेनले अब नयाँ बसपार्क क्षेत्र नै फुङलिङको प्रमुख र एक मात्र सवारी पार्क गन्तव्य हुने दाबीसहित नयाँ बसपार्क सञ्चालनमा आएको घोषणा गरेका हुन्। उनले नयाँ बसपार्क क्षेत्रमा पुगेका सवारी चालकलाई खादासहित स्वागत समेत गरेका छन्।

नगर प्रमुख मादेनले बसपार्क क्षेत्रमा आवश्यक पर्ने धेरै संरचना तथा पूर्वाधारको निर्माण कार्य पूरा भएको र बाँकीलाई तत्काल पूरा गर्ने बताए। अहिले केही टिकट काउन्टर बनेको र अब एक दर्जन बढी काउन्टर निर्माण गरी यातायात व्यवसायीलाई सहज बनाइने उनले बताए।

सिसी क्यामेरा, विद्युत् चार्जिङ स्टेशनसहितका पूर्वाधार निर्माण कार्य पूरा भएको नगर प्रमुख मादेनको भनाइ छ। उनले बसपार्क हातामा चमेना गृहसहितका पूर्वाधार निर्माणका लागि नगरपालिकाले गृहकार्य सुरु गरिसकेको बताए। नयाँ बसपार्क क्षेत्रमा सुरक्षा चेकपोष्ट सहितको व्यवस्थापन गर्ने कार्य अघि बढीसकेको उनले जानकारी दिए।

नयाँ बसपार्क क्षेत्रमा पर्याप्त मात्रामा काउन्टर नबनुञ्जेलसम्मका लागि अहिले कायम रहेका काउन्टरमार्फत नै यात्रु उठाउने तथा ओलार्ने प्रयोजन बाहेक अब सबै सवारीको पार्किङ नयाँ बसपार्कमा हुने नगरप्रमुख मादेनले बताए। उनले त्यसका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयसंग समन्वय भइसकेको मादेनको भनाइ छ। अरू थप व्यवस्थापनका लागि नगर प्रहरी समेत परिचालन गर्ने मादेनको भनाइ छ। 

नगर प्रमुख मादेनले नयाँ बसर्पाक क्षेत्रमा रहेका सिसी क्यामेराको निगारानी तथा ट्राफिक प्रहरी समेतको सहयोगमा नयाँ बसपार्क क्षेत्रमा पार्किङ गरिएका तथा प्रस्थान र आगमन हुने सवारीले पालना गरेको सवारी नियमका आधारमा सवारी चालकलाई नगरपालिकाले पुरस्कृत गर्ने घोषणा समेत गरे।

उनका अनुसार सवारी नियम पालना गर्ने सर्वौत्कृष्टलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई नगद ३ हजार पुरस्कार प्रदान गरिने छ। यसबाहेक नयाँ बसपार्क क्षेत्रमा सवारी पार्किङ गर्ने सवारी चालकलाई नगरपालिकाको पहिचान स्वरुप प्रत्येक दुई वर्षमा सवारी चालक पोशाक दिने समेत नगरप्रमुख मादेनले बताए।

यसअघि गत २०८१ साल भदौ २० गते समेत उक्त नयाँ बसपार्क सञ्चालन भएको घोषणा गरिएको थियो। तर अपेक्षा अनुसार नयाँ बसपार्क सञ्चालन कार्यान्वयनमा भने आउन सकेन। यसपटक नगरपालिकाले साविक जस्तो सडकमा पार्किङ गर्ने परम्परालाई रोक्न स्थानीय प्रशासन र नगर प्रहरी समेत परिचालन गर्ने नीति लिएको जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८२ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App