३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

प्रधानमन्त्री कार्कीलाई अञ्जली मास्केको सुझावः प्रधानन्यायाधीश जस्तै निडर भएर काम गर्नु

प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्। प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गरेकी हुन्।  

“तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ । एकपटक भेट्ने इच्छा थियो, आज पूरा भयो । सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो”, प्रधानमन्त्री कार्कीले भनिन्, “यहाँलाई सम्मान गर्न पाउँदा हामी आफू पनि सम्मानित भएको महसुस भएको छ। यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ।”

काठमाडौंको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छन्।  

उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गरेकी थिइन्। त्यस्तै काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उनले गर्दै आएकी छन्। प्रधानमन्त्री कार्कीसँगको कुराकानीका क्रममा मास्केले यी सबै काम आफ्नै निजी खर्चमा गर्दै आएको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।  

“मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ”, ८२ वर्षीया मास्केले भनिन्, “जे सक्छु, आफ्नै खर्चमा गर्छु, अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ ।” मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिइन्।  

प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बन्नुभएको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताइन्।  

“सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो”, मास्केले भनिन्, “यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो । आज त्यो दिन देख्न पाइयो । एकदम खुसी र भरोसा लागेको छ । पहिलाजस्तै नडराइकन काम गर्नुहोला ।”  

अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि व्यक्त गरिन् ।

प्रकाशित: १० कार्तिक २०८२ १८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App