१ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

अति विपन्न मुसहर परिवारलाई दिइयो तीन हजार दसैँ खर्च

उदयपुरको चौदण्डीगढी नगरपालिकाले अति विपन्न तथा दलित समुदायका मुसहर (सदा) परिवारलाई दसैँ खर्च उपलब्ध गराएको छ। गरिबी र विपन्नताका कारण आर्थिक अभावमा दसैँ, तिहार मनाउन सकस हुने सदा समुदायलाई नगरपालिकाले यो वर्ष दसैँ मनाउन खर्च दिएको हो।

नगरपालिकाले दसैँ मनाउन प्रतिपरिवार तीन हजार रुपैयाँका दरले खर्च उपलब्ध गराएको हो। सोमबार वडा नं. ५, ९ र १० मा बसोबास गर्दै आएका सदा समुदायलाई खर्च हस्तान्तरण गरियो। नगरप्रमुख कालुमान लामाले सदा समुदायको घरपायक पुगेर दसैँ खर्च प्रदान गरे।

नगरभित्र स्थायी बसोबास गर्ने २२८ घरधुरी परिवारलाई दसैँ खर्च उपलब्ध गराउने योजना रहेको लामाले बताए। उनका अनुसार मुसहर समुदायलाई लक्षित गरी नगरपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको हो। देशभरका ७५३ स्थानीय तहमध्ये चौदण्डीगढी नगरपालिकाले पहिलो पटक यस्तो मुसहरमैत्री कार्यक्रम ल्याएको दाबी पनि लामाले गरे।

कार्यक्रम सञ्चालन गर्नकै लागि चौदण्डीगढी नगरपालिकाले मुसहर समुदायलाई दसैँ खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८३ पारित गरेको दाबी पनि लामाले गरे। अति विपन्न र दलित समुदायका मुसहरलाई चाडबाड लक्षित सहयोग गर्न आवश्यक कानुनकै खाँचो परेकाले कार्यविधि बनाएर अघि बढेको उनले बताए। गरिब र विपन्न परिवारको पनि चाडपर्व सहज होस् भन्ने उद्देश्यले कार्यविधि बनाएर रकम वितरण गरेको उनले बताए।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रोशनीदेवी कार्कीले सोमबारको कार्यक्रममा वडा नं. ५ का १ सय घरधुरीले दसैँ खर्च प्राप्त गरेको बताइन्। उनका अनुसार वडा नं. ९ का ४४ र वडा नं. १० का २३ घरधुरी सदा परिवारले पनि खर्च पाएका छन्।

मंगलबार वडा नं. २ का ६१ घरधुरी परिवारलाई रकम उपलब्ध गराउने योजना कार्कीले सुनाइन्। यसरी नगरपालिकाभित्र बसोबास गर्ने सबै २२८ घरधुरी मुसहर परिवारका लागि नगरपालिकाले ६ लाख ८४ हजार रुपैयाँ वितरण गर्ने योजना बनाएको छ।

चौदण्डीगढीका १० वडामध्ये २, ५, ९ र १० नं. वडामा मुसहर समुदायको बसोबास रहेको नगरपालिकाका सामाजिक शाखा प्रमुख नवराज बरालले बताए। उनका अनुसार नगरपालिकाभित्र मुसहर समुदायको जनसंख्या जम्मा एक हजार २४ जना रहेको छ। जसमा पुरुषको संख्या ५०९ र महिलाको संख्या ५१५ जना रहेको बरालले बताए।

नगरपालिकाले खर्च दिएपछि दसैँ मनाउन सहज हुने भन्दै लाभग्राही मुसहर समुदाय खुसी भएका छन्। तीन हजार रुपैयाँ नै भए पनि मासु र चामल किन्न पुग्ने भएकाले परिवारमा छोराछोरीसँगै बसेर दसैँ मनाउने उनीहरूले बताए। नगरपालिकाले दिएको पैसाले खासगरी छोराछोरीलाई खुसी बनाउन सजिलो भएको उनीहरूको भनाइ छ।

प्रकाशित: २७ आश्विन २०८३ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App