२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

देशभरका एम्बुलेन्स चालकले एकसाथ ४० जिल्लामा ज्ञापनपत्र बुझाए

देशभरका एम्बुलेन्स चालकले आज एकै पटक ४० जिल्लामा ज्ञापनपत्र बुझाएका छन्। संयुक्त एम्बुलेन्स चालक संघ नेपालको आह्वानमा चितवनसहित विभिन्न जिल्लामा ज्ञापनपत्र बुझाइएको हो। 

संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य ऐन २०७५ संशोधन गर्न, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्न, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनेलगायत माग संघले अघि सारेको छ।

यसैगरी एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्न, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था गर्न, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोसाक व्यवस्था गर्न संघको माग छ। सबै जिल्लामा एउटै माग राखेर प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाइयो।

यसअघि केन्द्रीय समितिले मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाइसकेको छ। अध्यक्ष लामिछानेले आफ्ना मागप्रति सरकार सकारात्मक नभएपछि देशभरबाट मन्त्रीलाई ज्ञापनपत्र पठाउन लागिएको बताए। उनका अनुसार देशभर झन्डै ६ हजार एम्बुलेन्स छन्। तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको उनले बताए। रासस

प्रकाशित: ६ भाद्र २०८२ १६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App