संसद भवन जलिरहेको पृष्ठभूमिमा फेसबुक लाइभ गर्दै अभद्र र उत्तेजक शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि अमनप्रताप अधिकारी विवादमा तानिएका छन्।
भदौ २४ गते भएको अराजक आन्दोलनका क्रममा खिचिएको भनिएको त्यो भिडियोमा अधिकारीले संसद भवन जलिरहेको दृश्य देखाउँदै अशोभनीय भाषामा टिप्पणी गरेका छन्। उनले बारम्बार ‘देखिस, जल्यो तेरो देश’ भन्ने वाक्य दोहोर्याएका छन्। भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘दिस इज हाउ संसद भवन वाज टेकन डाउन।’
यो भिडियो अधिकारीकै आधिकारिक फेसबुक वालबाट सार्वजनिक भएको हो र समाचार तयार पार्दासम्म उनको पेजमा छ ।
भिडियोमा प्रयोग गरिएका कतिपय शब्दहरू उद्धृत गर्न पनि अनुपयुक्त छन्। उनले नेताहरू र राजनीतिप्रति घोर असन्तुष्टि व्यक्त गर्दै अपशब्द प्रयोग गरेका छन्।
को हुन अमनप्रताप अधिकारी
अमनप्रताप अधिकारी नेपालका पूर्व ए डिभिजन फुटबल खेलाडी हुन्। खेल जीवनपछि उनी कमेन्टेटर र टेलिभिजन प्रस्तोता बने। पछिल्ला वर्षमा उनले ‘हिमालयन रोडिज’ लगायतका रियालिटी शो सञ्चालन गरेका थिए।
त्यसैगरी, उनी नेपालकै पहिलो साहित्यिक रियालिटी शो ‘द पोएट आइडल’ का परिकल्पनाकार तथा निर्देशक हुन्।
अधिकारीका पिता दिवंगत क्षेत्रप्रताप अधिकारी पञ्चायतकालीन राष्ट्रिय पञ्चायतका सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री थिए। दुई छोरामध्ये अमन कान्छा हुन्।
‘जेनजी आन्दोलन’का नाममा चलिरहेको विरोध प्रदर्शनलाई समर्थन गर्दै अधिकारीले यसअघि पनि सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै आएका थिए। तर, संसद भवनमा आगजनीका बेला गरिएको उनको भिडियो र भाषाशैलीले सार्वजनिक छवि र सांस्कृतिक भूमिकासँग असंगत प्रतिक्रिया सिर्जना गरेको छ।
प्रकाशित: ८ कार्तिक २०८२ १८:१३ शनिबार





