१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

‘मोन्था चक्रपात’बाट जोगिन मधेस प्रदेशमा अलर्ट

क्याप्शन

जल तथा मौसम विभागले चेतावनी पछि मधेस प्रदेश सरकार तयारीमा जुटेको छ । बिहीबारदेखि शनिबारसम्म मधेस प्रदेशमा मध्यमदेखि अत्ति भारी वर्षाको सम्भावना रहेकाले जोखिममा रहेका बस्तीका नागरिकहरुलाई सुरक्षित क्षेत्रमा सर्न मधेस प्रदेश सरकारले आग्रह गरेको छ ।

बुधबार मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बसेको प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले तीन वटै सुरक्षा निकायलाई 'अलर्ट' मा बस्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सोनल र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित बैठकले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ बिहीबार दिउँसो नेपाल प्रवेश गर्ने भएको हुनाले त्यसबाट जोगिन सर्वसाधारणलाई अपिल गरेको छ ।

मुख्यमन्त्री सोनलले प्रदेश सरकार विपद जोखिम न्यूनीकरण गर्नका निमित्त अधिकतम प्रयास गर्ने र आफूसँग भएका सम्पूर्ण जनशक्तिलाई परिचालन गर्ने निर्णय गरेको बताए ।

उनले नदी किनारको क्षेत्रमा बढी प्रभावित हुने आशंका रहेको भन्दै बागमती नदी, रातो, लखनदेही, कमला नदीहरुको क्षेत्रमा उच्च जोखिममा रहेको बताए । मुख्यमन्त्री सोनलले सप्तकोशीमा पनि अधिकतम जोखिममा हुने प्रक्षेपण गरिएको बताउँदै नदीको छेउमा रहेका बस्तीहरु बढी जोखिममा रहेको बताए ।

उनले प्राकृतिक विपद्बाट जोगिनलाई तीन वटै तहको टेक्निकल म्यान पावर परिचालन गरिने बताए । मुख्यमन्त्री सोनलले गैर सरकारी संस्थाहरुलाई पनि आ–आफ्नो ठाउँबाट उठेर यस सम्भावित विपतिको घटनामा सबैजना सचेतनाको साथ सूचना र भौतिक रुपले सहभागी भए ठूलो जोखिमबाट बँचाउन सकिने बताए ।

मुख्यमन्त्री सोनलले किसानहरुलाई धान–बाली न काट्न आग्रह गरेका छन् । धान काटेको भए तत्काल भित्राउन अपिल समेत गर्दे उनले प्रदेश सरकार यस विपद्बाट बँच्न कदमहरु चालेको बताए ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विपद् उद्धार टोलीलाई जोखिम भएको क्षेत्रमा तयारी अवस्थामा राखिएको छ । आवश्यक पर्ने डुंगा, लाइफ ज्याकेट जम्मा गरिएको छ ।  संघ सरकार र स्थानीय सरकारसँग निरन्तर सम्पर्क गरिरहेका छौँ’, उनले भने, ‘सम्भावित प्राकृतिक विपद्को समयमा प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्छु । नदी तथा डुबानको जोखिममा रहेका वस्तीका नागरिकहरुलाई नजिकको उच्च स्थानमा रहेको सार्वजनिक भवन लगायतको क्षेत्रमा तत्काल सर्न आग्रह गरेका छौँ ।’

 

प्रकाशित: १२ कार्तिक २०८२ १९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App