खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट ६५ करोड ३० लाख बढी भित्रिएको छ। मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१/८२ मा सो परिमाणको कारोबार भएको हो।
कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार आलु, धान, अलैँची, तरकारीबाली, मकै र सुन्तला जात फलफूलको बिक्रीबाट जिल्लाभरका कृषकले उक्त कारोबार गरेका हुन्।
जिल्लामा मुख्यतया आलु र सुन्तलाको बढी कारोबार हुने गर्दछ। धान, मौसमी तथा बेमौसमी तरकारी, अलैंची र मकै तथा काँक्रोको मूल बीउ समेत उत्पादन गरी बिक्री गरिंदै आएको छ।
गत आर्थिक वर्षमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको थियो। मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन उत्पादन भएको छ।
प्रमुख अधिकारीका अनुसार जौ ५४ मेट्रिक टन, फापर एक सय मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन र दलहनबाली ५२७ मेट्रिक टन उत्पादन भएको थियो। जिल्लाभर तेलहनबाली ३६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन र सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको प्रमुख अधिकारीले बताए।
जिल्लामा सुन्तलासहित अन्य जातका फलफूहरू गत आर्थिक वर्षमा १३ हजार ३०७ मेट्रिक टन उत्पादन भएको कार्यालयल जनाएको छ। आलुबाट गत आर्थिक वर्षमा सात करोड ७३ लाख रूपैयाँ, बीउ तथा तरकारीबाट ११ करोड, सुन्तलाबाट २४ करोड ८४ लाख, मौरीको महबाट चार करोड ५० लाख र अलैँचीबाट एक करोड ८१ लाख रूपैयाँ रकम भित्रिएको छ।
कृषकलाई हरेक कार्यक्रमा ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरिएको छ। केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा चार करोड रूपैयाँभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ।
केन्द्रले गत वर्ष २०३ मिनिपावरटिलर, २५ कुटानी–पिसानी मिल, ४१ स्पे्रयर, पाँच ब्रसकटर वितरण गरेको छ। यस्तै सिँचाइका लागि पाँच हजार ९३५ मिटर लामो पाइप, ७०० हिलट्याङ्क र ३६७ मिटर लामो कुलो मर्मतका लागि समेत अनुदान वितरण गरेको प्रमुख अधिकारीले बताए।
गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आर्थिक वर्षका लागि रु पाँच करोड ६४ लाख बजेट विनियोजन भएको छ भने सङ्घ ससर्ततर्फ रु २१ लाख ४३ हजार विनियोजन भएको कार्यालयले जनाएको छ।
प्रकाशित: ७ कार्तिक २०८२ ११:४५ शुक्रबार





