जुम्लाको वातावरण यतिबेला असाध्यै रमणीय बनेको छ। जिल्लाभर फैलिएका स्याउका बगैँचामा सेताम्मे फूल फुलेपछि जुम्लाको प्राकृतिक दृश्य नै रोमाञ्चक बनेको हो।
स्वादिलो स्याउका लागि देशभर प्रख्यात जुम्लामा अहिले बोटभरि फूलले ढाकिएका बगैँचाले मनमोहक रूप लिएका छन्। चैत-वैशाखमा स्याउ फुल्ने र भदौमा पाक्ने चक्रअनुसार अहिले फूलको मौसमले बगैँचाहरू उज्याला देखिएका छन् भने पाक्ने बेलामा यिनै बगैँचा राताम्मे हुने गर्छन्।
जुम्लामा स्याउ खेतीको इतिहास २०२२ सालदेखि सुरु भएको मानिन्छ। उक्त वर्ष केही व्यक्तिले भारतको कास्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि यहाँ स्याउ खेतीको आधार बसालिएको हो। त्यसपछि बिस्तारै जिल्लाभर फैलिएको स्याउ खेतीलाई तत्कालीन सरकारले पनि प्रोत्साहन दिएको थियो।
२०३२ सालमा रानी ऐश्वर्याको जुम्ला भ्रमणपछि चन्दननाथ नगरपालिका–१० (तत्कालीन कार्तिकस्वामी गाउँ पञ्चायत) को गैरागाउँमा स्याउको बागवानी केन्द्र स्थापना गरिएको थियो। २०३४ सालदेखि सो केन्द्रले बिरुवा उत्पादन गरी विभिन्न स्थानमा नमुना खेती सुरु गराएसँगै जुम्लामा स्याउ खेती संस्थागत रूपमा विस्तार हुन थाल्यो। हाल जुम्लाको एक मात्र नगरपालिका चन्दननाथसहित सातवटै गाउँपालिका र सबै ६० वटै वडामा स्याउ खेती भइरहेको छ।
यहाँ गोल्डेन डेलिसियस, रेड डेलिसियस, रोयल डेलिसियस, जोनाथन, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, इटालियन फुजी र गाला जातका स्याउ उत्पादन हुने गरेका छन्। जुम्लामा उत्पादन हुने स्याउले काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगन्ज, बुटवल र चितवनजस्ता प्रमुख सहरमा राम्रो बजार पाएको छ। जिल्ला कृषि विकास कार्यालयले बिरुवा वितरण, काँटछाँट तथा प्राविधिक सहयोग गर्दै आएपछि स्याउ खेती थप व्यवस्थित बन्दै गएको छ। पछिल्लो समय सुर्खेत–जुम्ला–कर्णाली राजमार्गको विस्तार र कालोपत्रेपछि यहाँका किसान स्याउ खेतीतर्फ अझ आकर्षित भएका छन्।
सडक पहुँचले बजारसम्म सहज ढुवानी सम्भव बनाएकाले उत्पादनसँगै आम्दानी पनि बढ्न थालेको छ। जुम्लाको सदरमुकाम खलंगादेखि १४ कोस टाढा छ। जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग्र गाउँका परिलाल रोकायाले यस वर्ष स्याउ बेचेर ४ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन्। ‘पहिले गाउँमै स्याउ कुहिन्थ्यो, कहिलेकाहीँ चाडबाडमा मात्रै खाने हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले सडकले बजारसम्म पुर्यायो, व्यापारी घरमै आउँछन्।’
उनका अनुसार ५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैँचामा रहेका ६ सय ५० बोटबाट यस वर्ष प्रति केजी ७० रुपैयाँमा स्याउ बिक्री भएको हो। उही गाउँका नर्मजङ रोकायाले पनि सडक विस्तारसँगै आएको परिवर्तन सम्झिन्छन्।
‘पहिले एक दिन हिँडेर खलंगा पुर्याउनु पर्थ्यो, कहिले कुहिन्थ्यो, कहिले पशुलाई खुवाउनु पर्थ्यो,’ उनले भने, ‘अहिले गाडी घरमै आउँछ, पैसा हातमै पर्छ।’ उनले यस वर्ष ४ लाख ३० हजार रुपैयाँको स्याउ बिक्री गरेका छन्। स्थानीय अन्य किसानहरू रामचन्द्र रोकाया (४ लाख ४२ हजार), लालबहादुर रोकाया (१ लाख ७० हजार) र बमबहादुर रोकाया (२ लाख रुपैयाँ) ले पनि उल्लेख्य आम्दानी गरेका छन्। फुङ्ग्र गाउँका १ सय १५ घरधुरीमध्ये सबैजसोले स्याउ खेतीबाट न्यूनतम ३० हजारदेखि ८० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। स्थानीयका अनुसार उत्पादन राम्रो भए बिक्रीमा समस्या छैन। ‘स्याउ राम्रो फलाउनु पर्छ, किन्ने व्यापारी गाउँमै पुग्छन्,’ किसानहरू भन्छन्, ‘बेच्न कुनै समस्या छैन, आत्मनिर्भर भएका छौँ।’
२०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ अवधारणा लागू भएपछि खेती विस्तारमा थप गति आएको हो। कृषि कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जुम्लामा १७ हजार ५ सय ५८.७५ मेट्रिक टन स्याउ उत्पादन भयो। यसमध्ये ५ हजार ५ सय ९१ मेट्रिक टन मात्रै जिल्लाबाहिर निर्यात भई ४१ करोड २९ लाख ८९ हजार २ सय ७० रुपैयाँ आम्दानी भएको छ।
यो अघिल्ला वर्षहरूको तुलनामा कम हो। गत आर्थिक वर्ष २०८१/०८२ मा १९ हजार ८ सय ४० मेट्रिक टन उत्पादन भई ९ हजार ३ सय ३१ मेट्रिक टन निर्यात हुँदा ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ भित्रिएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा २० हजार ५ सय ११.४६ मेट्रिक टन उत्पादन भई हालसम्मकै उच्च ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।
यस वर्ष कुल उत्पादनको करिब ३० प्रतिशत मात्रै निर्यात भएको छ। ४ हजार ४ सय १४.६० मेट्रिक टन जिल्लाभित्रै खपत भएको छ भने २ हजार ६ सय ४८.८१ मेट्रिक टन नासो र कोसेलीका रूपमा बाहिरिएको छ। करिब १५ प्रतिशत उत्पादन चाना, जुस, जाम, साइडर र ब्रान्डी बनाउन प्रयोग भएको छ।
१० प्रतिशत (१ हजार ७ सय ६५.८८ मेट्रिक टन) भण्डारणमा रहेको छ भने करिब १० प्रतिशत उत्पादन क्षतिग्रस्त भएको छ। उत्पादकत्वमा पनि गिरावट आएको छ। गत वर्ष प्रतिहेक्टर ९.९२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष घटेर ८.३१ मेट्रिक टनमा झरेको छ। असिना र बेमौसमी वर्षाका कारण झन्डै १७ करोड रुपैयाँ बराबरको क्षति भएको कृषि कार्यालयले जनाएको छ।
उत्पादन घटे पनि मूल्य भने बढेको छ। अघिल्लो वर्ष प्रतिमेट्रिक टन ६५ हजार ४ सय रुपैयाँ रहेको मूल्य यस वर्ष बढेर ७० हजार रुपैयाँ पुगेको छ। बगैँचामै प्रतिकिलो ६५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बिक्री भएको थियो भने इटालियन फुजी स्याउ १ सय ७५ रुपैयाँभन्दा माथि कारोबार भएको देखिन्छ। खेती क्षेत्रफल पनि विस्तार भएको छ। गत वर्ष ४ हजार ३ सय २५ हेक्टरमा सीमित स्याउ खेती यस वर्ष ४ हजार ४ सय ४५ हेक्टर पुगेको छ।
फल दिने क्षेत्र २ हजार हेक्टरबाट २ हजार १ सय २५ हेक्टर पुगेको छ। स्याउ खेतीमा संलग्न घरधुरी सङ्ख्या १९ हजार १ सय २५ बाट बढेर १९ हजार १ सय ५० पुगेको छ। बिक्री वितरणमा संलग्न कृषक ७ हजार ३ सय २५ बाट बढेर ७ हजार ३ सय ५० पुगेका छन् भने व्यापारमा संलग्न कृषक ५ सय २५ बाट बढेर ६ सय ३ पुगेका छन्।
देशभर उत्पादन हुने स्याउमध्ये ४१.२ प्रतिशत कर्णाली प्रदेशमै उत्पादन हुने गरेको छ, जसमा जुम्ला अग्रस्थानमा छ। जुम्ली स्याउको स्वाद र गुणस्तरले राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ।
प्रकाशित: १ वैशाख २०८३ १३:५२ मंगलबार





-600x400-wm.jpg)