कैलालीको टिकापुर नगरपालिका–१ राजीपुर गाउँका ३० वर्षीय सुरेश चौधरीको सपना नेपाली प्रहरी बन्ने थियो। यही लक्ष्यका साथ उनले २०७७ सालमा प्रहरी भर्नाका लागि आवेदन दिएका थिए। तर नतिजा अपेक्षाअनुसार आएन। प्रहरी बन्ने सपना अधुरै रह्यो र कक्षा ११ पछि पढाइ पनि रोकियो। त्यसपछि उनले अर्को बाटो रोजे-सीप र श्रमको।
दुई वर्षअघि रोजगारीको खोजीमा जुम्ला पुगेका चौधरी अहिले जिल्लाभरि परिचित पेन्टिङ कामदारका रूपमा स्थापित भएका छन्। पेन्टिङ, टायल बिछ्याउने, भवन सजावट, आर्ट तथा चित्र निर्माणजस्ता काममा दक्ष उनी हाल चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा पेन्टिङ गरिरहेका छन्। उक्त कामका लागि १२ हजार रुपैयाँ पारिश्रमिक तय भएको छ। उनका अनुसार यो काम तीन दिनभित्र सम्पन्न हुनेछ।
जुम्लामा निर्माण गतिविधि विस्तार हुँदै जाँदा दक्ष जनशक्तिको माग पनि बढेको चौधरी बताउँछन्। निजी घरदेखि सरकारी कार्यालय, गैरसरकारी संस्था, विद्यालय, होटल तथा शौचालय निर्माणसम्म उनका काम पुगेका छन्। कामको चाप यति धेरै हुने गरेको उनी सुनाउँछन् कि कतिपय दिन खाजा खाने समयसमेत मिल्दैन।
‘अब काम खोज्दै हिँड्नुपर्दैन, काम आफैं आउँछ,’ चौधरी भन्छन्, ‘धेरै ठाउँबाट एकैपटक माग आउँदा समय व्यवस्थापन गर्न नै गाह्रो हुन्छ।’
उनले लम्कीस्थित बर्जर डिलरमार्फत पेन्टिङसम्बन्धी व्यावसायिक सीप सिकेका थिए। अहिले त्यही सीप उनको मुख्य आम्दानीको आधार बनेको छ। दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म कमाइ हुने गरेको उनी बताउँछन्। मासिक न्यूनतम ४० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने उनको दाबी छ।
जुम्लामा बिताएको दुई वर्षमा उनले २५ देखि ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको बताएका छन्। सदरमुकाम खलंगास्थित बर्जर डिलरसँग समन्वय गर्दै विभिन्न स्थानमा काम गरिरहेका उनी अहिले परिवारको मुख्य आर्थिक आधार बनेका छन्।
१० सदस्यीय परिवारका सदस्य रहेका चौधरीले कमाएको अधिकांश रकम घर पठाउने गरेका छन्। परिवारको खर्च, बालबालिकाको शिक्षा र दैनिक जीवन सञ्चालनमा उनको आम्दानी महत्वपूर्ण बनेको छ।
उनको अनुभवले बेरोजगारीको समाधान सरकारी जागिरमा मात्र सीमित नरहेको देखाएको छ। औपचारिक शिक्षाभन्दा पनि सीप, मेहनत र लगनशीलताले आत्मनिर्भर बन्न सकिने उदाहरणका रूपमा चौधरी उभिएका छन्।
‘सरकारी जागिर नपाए पनि निराश हुनुपर्दैन,’ उनी भन्छन्, ‘सीप सिकेपछि कामको अभाव हुँदैन। जुनसुकै सीपलाई इमान्दारीपूर्वक प्रयोग गर्न सकियो भने राम्रो कमाइ गर्न सकिन्छ।’
कर्णालीजस्ता दुर्गम जिल्लामा दक्ष प्राविधिक जनशक्तिको अभाव भइरहेका बेला चौधरीजस्ता युवाले सीपलाई रोजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउन सकिने सन्देश दिएका छन्। प्रहरी बन्ने सपना पूरा नभए पनि उनले असफलतालाई अन्त्य होइन, नयाँ सुरुवात बनाए—र त्यही बाटोले उनलाई आर्थिक रूपमा आत्मनिर्भर बनायो।
प्रकाशित: ११ असार २०८३ १४:२६ बिहीबार


-600x400.jpg)


