नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ।
आज उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।
सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै हेलिकप्टर घटनास्थलतर्फ पठाइएको हो।
विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार र शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
बाढीबाट प्रभावित आयोजनामा कार्यरत जनशक्तिको सुरक्षा तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ। आवश्यकताअनुसार उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइने प्राधिकरणको भनाइ छ।
प्राधिकरणले विपद्को यस कठिन परिस्थितिमा सबैलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ।
प्रकाशित: १२ भाद्र २०८३ १२:४४ शुक्रबार





-600x400.jpg)