सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएमा कारबाहीको दायरामा ल्याइने बताएका छन्।
किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासो आएपछि किसानहरूले धानको समर्थन मूल्य पाए/नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्। उनले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी अनुगमन गर्न निर्देशन दिएको जनाएको छ।
उनले सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरूले कार्यान्वयन नगरेको पाएमा कारबाहीको दायरामा ल्याउन निर्देशन दिए। मुख्यमन्त्री शाहले सरकारले निर्धारण गरेको धानको मूल्य किसानले पाउनुपर्नेमा जोड दिए। यसअघि २०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक सूचनामार्फत मोटो धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ दशमलव ८१ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६२८ दशमलव ३३ निर्धारण गरिएको जानकारी गराएका थिए।
साथै उनले सूचनामा सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गराउन सबै पालिकालाई आग्रह गरेका थिए। प्रमुख जिल्ला अधिकारी लम्सालले छठ लगत्तै कैलालीका सबै स्थानीय तहहरूमा अनुगमन गर्ने बताएका थिए।
प्रकाशित: ४ कार्तिक २०८२ १२:४८ मंगलबार





