जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्कुल बस सञ्चालन सम्बन्धी निर्देशिका २०७४ अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहेका स्कुल बसहरूको चेकजाँच गरेको छ। चेकजाँच तथा अनुगमनमा २० वटा स्कुल बसमध्ये ५ वटा बस कारबाहीमा परेको प्रहरीले जनाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारका अनुसार कारबाहीमा परेका बसहरू अत्यधिक फोहर, दुर्गन्धित, सिट च्यातिएका, आवश्यक सुरक्षा उपकरण नराखी सञ्चालन गरिएका र सवारी साधनको सिट क्षमताभन्दा धेरै विद्यार्थी राखी चलाइएका थिए। साथै, केही बसको प्राविधिक अवस्था समेत राम्रो नभएको पाइएको उनले बताए।
ट्राफिक प्रहरीले यसलाई अभियानकै रूपमा विद्यालय बसहरू चेकजाँच गर्ने गरेको छ। बसको शुल्क तिरे पनि बसहरू फोहोर, सिट क्षमताभन्दा विद्यार्थी कोच्ने लगायतका समस्याहरू आएको अभिभावकहरूले गुनासो समेत गरेका छन्।
कार्यालयका अनुसार निर्देशिका २०७४ अनुसार मापदण्ड विपरीत सञ्चालन भएका स्कुल बसहरूलाई आगामी दिनमा थप कडा कारबाही गरिने छ। सुर्खेतमा चालकले बसहरू विद्यालय समयमा जथाभावी रोक्ने र चढाउने गर्दछन्। जसले गर्दा विगतमा धेरै दुर्घटनाहरू भएको पाइएको छ।
प्रकाशित: २९ श्रावण २०८२ १०:४९ बिहीबार





