४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

मन्त्री सिफारिसको नक्कली पत्र भाइरल, रक्षा बमले भनिन्- ‘कानुनी उपचारमा जान्छाैं’

जेन-जी आन्दोलनका दुई प्रमुख अभियन्ता रक्षा बम र युजन राज भण्डारीले आफ्नो नाम र हस्ताक्षर किर्ते गरी नक्कली कागजात सार्वजनिक गरिएको बताएका छन्।

उनीहरूले उक्त कार्य आन्दोलनलाई तुहाउने षड्यन्त्र भएको बताउँदै यसमा संलग्नहरूविरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी समेत दिए।

सामाजिक सञ्जालमा अहिले एक पत्र सार्वजनिक भएको छ। ‘सडकको अगुवा मन्त्री मण्डलमा’ नामक समितिको निर्णय भन्दै एक कागजात बाहिरिएको थियो। सो पत्रमा जेनजी प्रतिनिधिहरूले आइतबार एक बैठक बसेको र मन्त्रीका रूपमा केही युवाहरूको नाम सिफारिस गरिएको उल्लेख छ।

उक्त कागजातमा अभिषेक श्रेष्ठको अध्यक्षतामा बैठक बसेको र जेनजी आन्दोलनका विभिन्न व्यक्तिहरूलाई मन्त्री पदमा सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको उल्लेख छ।

उक्त पत्रमा मिराज ढुंगानालाई गृह मन्त्री, दिवाकर डंगोललाई महिला तथा बालबालिका मन्त्री, र रक्षा बमलाई सोही मन्त्रालयको राज्यमन्त्रीको रूपमा सिफारिस गरिएको छ।

कागजातमा रक्षा बम र युजन राज भण्डारीलगायत ९ जनाको नाम र हस्ताक्षर समेत समावेश छ।

तर, कागजात सार्वजनिक भएलगत्तै रक्षा बम र युजन राज भण्डारीले एक भिडियो सन्देश जारी गर्दै उक्त निर्णय र त्यसमा भएको आफ्नो हस्ताक्षर पूर्ण रूपमा नक्कली भएको स्पष्ट पारेका छन्।

‘अहिले भर्खरै सार्वजनिक भएको एउटा मिटिङको माइन्युटमा हामी दुईजनाको समेत नाम उल्लेख गरेर हाम्रो किर्ते हस्ताक्षर गरी मन्त्रिमण्डलको सिफारिस सार्वजनिक भएको छ,’ भिडियोमा रक्षा बमले भनेकी छिन्, ‘त्यसमा हाम्रो कुनै किसिमको सहभागिता छैन। हामी त्यस्ता कुनै पनि बैठक वा छलफलमा सहभागी छैनौँ।’

युजन राज भण्डारीले यसलाई आन्दोलनलाई कमजोर पार्ने खेलको संज्ञा दिए। ‘पहिलो दिनदेखि नै यो आन्दोलनलाई तुहाउने खेल भइरहेको थियो। अहिले पनि कुनै तत्वले त्यो खेल जारी राखेको बुझ्न सकिन्छ,’ उनले भने, ‘धमिलो पानीमा माछा मार्ने यस्तो खेल कदापि नगर्नुहोला।’

उनीहरूले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोगविरुद्ध कानुनी उपचारमा जाने बताएका छन्।

यस्तो छ भाइरल पत्र

प्रकाशित: २६ आश्विन २०८२ २१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App