२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

भक्तपुर मालपोत आसपास लेखापढी सेवा ठप्प, थप दुई जना पक्राउ

भक्तपुर मालपोत कार्यालय आसपासका लेखापढी व्यवसायीहरूले बिहीबार पनि आफ्ना सम्पूर्ण सेवा बन्द गरेका छन्। बुधबार साथीहरू पक्राउ परेकाको विरोधमा उनीहरूले दोस्रो दिन पनि सेवा ठप्प पारेका हुन्।

बुधबार पक्राउ परेका ११ जनालाई साँझ नै रिहा गरिएको भए पनि पेशागत सुरक्षा नभएको भन्दै लेखापढी व्यवसायीहरूले सटर बन्द गरेर विरोध जारी राखेका हुन्। भक्तपुर मालपोत आसपास मात्रै चार सयभन्दा बढी लेखापढी व्यवसायीका सेवा केन्द्र रहेका छन्।

लेखापढी व्यवसायीहरूले सेवा बन्द गरेपछि मालपोत कार्यालयभित्र सेवा लिन जाने सेवाग्राहीको संख्या न्यून देखिएको थियो। अधिकांश सेवाग्राहीले लेखापढी व्यवसायीको सहयोगबाट मालपोत कार्यालयका सेवा लिने गरेका छन्। विभिन्न प्रक्रियागत जटिलताका कारण धेरै सेवाग्राही प्रत्यक्ष रूपमा सेवा लिन असमर्थ हुने गरेका छन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समिति भक्तपुरले आफ्ना सदस्यहरूमाथि प्रहरीले गरेको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै बिहीबार विज्ञप्ति जारी गरेको छ।

एसोसिएसनद्वारा जारी विज्ञप्तिमा कानुनबमोजिम अनुमति लिएर पेशागत कार्य गरिरहेका लेखापढी व्यवसायीहरूलाई बिना कारण पक्राउ गरिएको भन्दै विरोध जनाइएको छ। विशेषगरी मालपोत तथा भूमि सम्बन्धी कार्यालय परिसरबाट व्यवसायीहरूलाई पक्राउ गरिएको घटनालाई “अनुचित र गैरकानुनी” भन्दै आपत्ति व्यक्त गरिएको छ।

एसोसिएसनका अनुसार लेखापढी व्यवसायीहरू भू–सेवा केन्द्र सञ्चालन निर्देशिकाअनुसार अनुमति लिएर सेवा दिँदै आएका छन्। तर पछिल्लो समय राज्यका निकायहरूले उनीहरूलाई ‘बिचौलिया’को संज्ञा दिँदै नियन्त्रणमा लिने कार्यले पेशागत मर्यादामाथि आघात पुगेको दाबी गरिएको छ।

यसअघि पनि विभिन्न स्थानमा यस्तै घटनापछि लेखापढी व्यवसायीहरूले आन्दोलन, पेनडाउन र विरोध कार्यक्रम गर्दै आएका छन्। सरकारी कार्यालयमा अनधिकृत पहुँच रोक्न सरकारले कडाइ गरेपछि यस्तो विवाद बढ्दै गएको बताइएको छ।

एसोसिएसनका सचिव आशिष घिमिरेले सेवाग्राहीको काम सहजीकरण गर्ने आफ्नो भूमिकालाई सम्मान गर्नुपर्ने माग गर्दै यस्ता गतिविधि तुरुन्त बन्द गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। पेशागत अधिकार सुनिश्चित नगरे आन्दोलन अझ सशक्त बनाइने चेतावनी पनि उनले दिएका छन्।

यसैबीच, भक्तपुर मालपोत कार्यालयबाट बिहीबार थप दुई जना कथित बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा जग्गा प्लटिङकर्ता विष्णुबहादुर कार्की र मनिष थापा रहेका छन्। उनीहरूलाई दिउँसो साढे तीन बजेतिर पक्राउ गरिएको जनाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार पक्राउ परेका दुवै जना मालपोत परिसरमा सक्रिय बिचौलिया थिए।

प्रकाशित: १० वैशाख २०८३ १९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App