१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

कर्णालीका जीर्ण सडकहरूमा रोकिएन दुर्घटना

मनसुन सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सडकमा पहिरो, बाढीका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ। भौगोलिक रूपमा विकट रहेको प्रदेशमा सुरक्षित सडक पूर्वाधार अभाव, जीर्ण सडक र सवारी साधनको प्राविधिक कमजोरीका कारण वर्षा याममा यात्रा झन् कठिन हुने गरेको स्थानीय बताउँछन्।

सुर्खेतबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी गत असार १८ मा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका– ७ सांगेतडास्थित कर्णाली नदीमा खस्यो। दुर्घटनामा परी एकजना घटनास्थलमै मृत भेटिए भने कैलालीको चिसापानी आसपास कर्णाली नदी किनारमा दुई पुरुष र एक महिलाको शव भेटियो। गाडीमा कतिजना थिए भन्नेबारे अझै यकिन भएको छैन भने दुर्घटना भएको गाडी हालसम्म पनि भेटिएको छैन।

गत वर्ष जेठ दोस्रो साता कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका– २ सिस्नेडाँडामा मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म–१ ख ६६० नम्बरको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भयो भने ३३ जना घाइते भएका थिए। यसअघि पनि राजमार्गमा ठूलासाना दर्जनौं दुर्घटना भएका छन्। २०६६ साल चैतमा दैलेखको किटुमा भएको दुर्घटनामा ४२ जनाले र कालीकोटको सेराबाडास्थित बित्तामोडमा २०६९ मा भएको दुर्घटनामा २८ जनाले ज्यान गुमाएका थिए।

साघुँरो र अप्ठेरो सडक, क्षमताभन्दा बढी यात्रु राखिनु, पुराना गाडी, ट्राफिक नियमको बेवास्ता लगायत कारण कर्णाली राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जयराज सापकोटाले बताए। ‘अत्यधिक गतिका कारण पनि दुर्घटना बढिरहेका छन्’, उनले भने, ‘कर्णालीको कठिन भूगोल त्यसैमा पनि जीर्ण सडक हुँदा दुर्घटना रोक्न चुनौती छ।’ उनका अनुसार पहिलेका वर्षभन्दा अहिले मृत्यु नै हुने दुर्घटना घटेका छन्।

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ। सडकमा आर्थिक वर्ष २०७६/७७ मा ओटासिल प्रविधिको कालोपत्र गरिएको थियो। सरकारले विश्व बैंकको एक अर्ब रुपैयाँ सहयोगमा सुर्खेतबाट खिड्कीज्युलासम्म १२६ र खिड्कीज्युलादेखि जुम्लासम्म १०७ किलोमिटर सडकमा कालोपत्र गरेको थियो। अहिले सडकको करिब ८० प्रतिशत कालोपत्र उप्किएको छ। कर्णाली राजमार्गमा कालोपत्र मर्मतको काम लामो समयदेखि अलपत्र हुँदा पनि सडक जीर्ण बन्दै गएको हो।

सडक डिभिजन कार्यालय जुम्लाले दुई साताअघि कर्णाली राजमार्गअन्तर्गत लामो समयदेखि अलपत्र परेका १६ वटा ठेक्का सम्झौता तोडेको छ। उसले दुई महिनाअघि पनि राजमार्गकै १० वटा रुघ्न ठेक्का तोडेको थियो। कार्यालयका अनुसार ठेक्का तोडिएका योजना आव २०७४/७५ देखिका हुन्।

बर्सेनि सडक मर्मतमा करोडौं रकम खर्च हुने गरे पनि सडकमा जोखिम उस्तै रहेको गाडी चालक मिलन रावतले बताए। ‘साँघुरा सडक र अप्ठ्यारा भीर भएको गाडी पास गर्न समस्या हुन्छ, अर्कोपट्टिबाट गाडी आए ब्याक गर्नुपर्छ’, उनले भने, ‘सडकमै कुनै गाडी बिग्रिए अरू गाडीले समेत त्यतै बास बस्नुपर्ने बाध्यता छ।’

आव २०८१/८२ को तुलनामा आव २०८२/८३ मा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा तीन प्रतिशतले कमी आएको छ। २०८१/८२ मा १३९ जनाको मृत्यु भएकोमा आव २०८२/८३ मा १२५ जनाको मृत्यु भएको ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ।

सवारीसाधनको बढ्दो चाप, यान्त्रिक अवस्था, साघुँरा र जीर्ण र कच्ची सडक, सडक तथा राजमार्गहरूमा सुरक्षाका लागि चाहिने आवश्यक पूर्वाधार अभाव लगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी अनुमान छ।

कर्णाली राजमार्गको दैलेखको खिड्कीज्यूलादेखि तल्लो डुगेश्वरसम्मको सडक सबैभन्दा जोखिम छ। कर्णाली राजमार्गको दैलेख खण्ड अत्यन्तै जीर्ण बन्दा यात्रुले सास्ती खेप्नुपरेको हो। राकम कर्णालीको भेल्तडीमा सडक हिलाम्मे हुँदा यात्रुले दैनिक दुःख पाउने गरेका छन्।

कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्डका अधिकांश स्थानमा फलामे सेफ्टी बार भाँचिएका छन्। भीरको सडक किनारमा लगाइएका सेफ्टी बार केही ठाउँमा पहिरो र केही ठाउँमा खियाका कारण जीर्ण बनेका छन्। ‘साँघुरो र अप्ठेरो सडकमा सेफ्टी बारले पनि सुरक्षित महसुस गर्न सकिन्छ’, चालक नवीन केसीले भने, ‘कर्णाली राजमार्गमा लगाइएका सेफ्टी बार पहिरोले भाँचिएका छन्, खिया लागेर जीर्ण बनेका छन्।’

उनले डेढ दशकदेखि कर्णाली राजमार्गमा गाडी चलाउँदै आएका छन्।

प्रकाशित: १४ श्रावण २०८३ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App