भौगालिक विकट रहेको मुम्रा गाउँ विकासका पूर्वाधारमा पनि गति लिँदै छ तर ‘मातृ स्वास्थ्य सेवा’का लागि सुगमका भन्दा कमी छैन। संस्थागत सुत्केरीमा सबैको पहुँच पुर्याएर नयाँ उदाहरण प्रस्तुत गरेको छ। यहाँका महिलाले पछिल्ला केही वर्षदेखि ‘मातृ स्वास्थ्य सेवा’ लिन कष्ट बेहोर्नुपरेको छैन। सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित यस गाउँमा पाँच वर्षयता गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन भने दुई वर्षयता हवाई उद्धारसमेत गर्नुपरेको छैन।
सान्नीघाटदेखि नै जोखिमयुक्त कच्चीले गाउँ जोडेको छ। सो स्थानदेखि सवारीसाधनमा यहाँ आइपुग्न करिब दुई/तीन घण्टा लाग्छ। वर्षातमा त्यो समयमा सम्भव हुन्न। सोही स्थानबाटै उकालो हिँडेर आउँदा त्यति समय लाग्दैन। नौ वडा रहेको पालिकाका सबै गाउँमा पुग्न कम्तीमा एक हप्ता बिताउनुपर्छ।
गाउँपालिकाले विशेष गरेर मातृ स्वास्थ्य सेवा क्षेत्रमा गरेका प्रयास अनुकरणीय मात्र छैन, सङ्घीय तथा प्रादेशिक उच्च तहमा बसेका नीति निर्मातालाई सिकाइ बन्न सक्छ। गाउँपालिकाले सङ्घीय सरकारको ‘लिजा इन्डिकेटर’ मा कालीकोटबाट प्रथम स्थान हासिल गरेको थियो। गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भने, “पाँच वर्ष यता यहाँका गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन।
गाउँपालिकाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य सेविका मार्फत घरघरमा मातृस्वास्थ्य सेवा पुर्याएको छ।” उनका अनुसार गाउँपालिकाभित्र पाँच ‘बर्थिङ सेन्टर’ छन्। यस्ता स्वास्थ्य संस्थामा आउन कम्तीमा एक घण्टाभन्दा बढी हिँड्नु पर्दैन। आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको चुस्त व्यवस्थापन गरिएका छन्।
उनले भने, “मातृ स्वास्थ्य सेवा’ लिन कुनै अप्ठ्यारो, समस्या तथा स्वास्थ्यकर्मीले दुःख दिए भने मलाई फोन गर्नु भनेको छु। समयसमयमा अनुगमन गर्ने गरेको छु।”
अध्यक्ष केसीको घर नै मुम्रा गाउँमा छ। गाउँका ७१ वर्षीय नाग्मल बुढाका अनुसार सुत्केरी हुन (बच्चा पाउन) धेरै सुविधा र परिवर्तन भएको छ।
उनले भने,“मेरा छोराछोरी जङ्गलमा जन्मेका हुन्। घाँसका भारी र बच्चासँगै ल्याउनुपर्थ्यो। अब त्यो समय रहेन। डाक्टर र अस्पताल जाने चलन थिएन।”
स्थानीयवासी गाउँका पुछारमा रहेको गाढखोला तरेर पारिपट्टिका जङ्गलमा घाँसदाउरा तथा वस्तुभाउ चराउन जाने गर्दछन्। यही मङ्सिरको दोस्रो साता तेस्रो सन्तानलाई जन्म दिइकी ३२ वर्षीय रचनाकुमारी बुढाले भनिन्, “मेरा तीनै सन्तान मुम्रा स्वास्थ्य चौकीमा जन्मेका हुन्। सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा बोकिएर जानुपर्छ। स्वास्थ्य चौकीका नर्स, महिला स्वास्थ्यकर्मी बोलीचाली र व्यवहार राम्रो छ।”
मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार चालु आवको चार महिनामा ११ जना सुत्केरी भइसकेका छन्। तीमध्ये एकजना १८ वर्षकी थिइन्। गत आवमा ४४ जनाले सोही स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए।
उनले भने, “गाउँघरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य छ। पछिल्लो समय वर्थिङ सेन्टरका लागि आवश्यक सामग्री सेट थप उपलब्ध भएपछि यहाँ समस्या कम नै छ।”
गाउँपालिकाभित्रका स्वास्थ्य संस्था सुदृढ बनाउन नेपाल रेड्क्रस सोसाइटी कालीकोट जिल्ला शाखाले सहयोग गरिराखेको छ। स्वीस तथा ब्रिटिश रेड्क्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’ले बर्थिङ सेन्टरमा हुनुपर्ने अत्यावश्यक सामग्रीसहित शौचालय निर्माणमा सहयोग गरेको छ।
कार्यक्रमका जिल्ला संयोजक भोजराज ओझाले स्वास्थ्य र सरसफाइ, हरित विद्यालय तथा एक घर एक धारा निर्माणमा परियोजनाले गाउँपालिकालाई सहयोग गरेको बताए।
डाँफे माध्यामिक विद्यालयका प्रधानाध्यपक दुर्गबहादुर बुढा विद्यालयको हाताभित्रको खुला चौर घेरबार गरिएपछि दीर्धकालीन समस्या हटेकामा खुसी भएका छन्।
विद्यालयलाई हरित बनाउन अभियानमा लागेको सो विद्यालयले ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’ को आर्थिक सहयोगबाट हालै मात्र घेरबारको काम भएको थियो। “विद्यालयका जमिन घेरबार नहुँदा गाईवस्तु कक्षाकोठामै पसेर साह्रै दुःखको अवस्था थियो। बालबालिकाको वस्तुभाउ धपाउनै समय बित्दथ्यो। अब ढुक्क भयो।”
उनका अनुसार परियोजनाको सहयोगमा छात्राका लागि स्यानिटरी प्याडको पनि व्यवस्था छ। यसबाट विद्यालयमा छात्राको उपस्थितिमा वृद्धि भएको छ। स्यानिटरी प्याडको उचित व्यवस्थापन गर्न विद्यालयलाई समस्या परेको छ।
‘एक घर एक धारा’
करिब १७ हजार जनसङ्ख्या रहेको सो पालिकामा ‘एक घर एक धारा’ समेत निर्माण गरिएका छन्। करिब दुई सयभन्दा बढी पानीको मूल संरक्षण गर्दै खानेपानीको व्यवस्थापन गरिएको हो। गाउँपालिकाका अध्यक्ष केसीका अनुसार हालसम्म दुई हजारभन्दा बढी धारा जडान गरिसकिएको छ। मुडपानी मुम्रा बिचगाउँ खोपानी तथा सरसफाइ आयोजना जस्ता योजना ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’ को सहयोगमा सम्पन्न गरिएका छन्।
पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणाका लागि आवश्यक तयारी समेत थालिएको छ।
अध्यक्ष केसीले भने, “समुदायका लागि आवश्यक ससना सहयोगले पनि धेरै परिवर्तन गर्न सकिँदो रहेछ भन्ने उदाहरण हामीले पुष्टि गरेको छौँ। यसका लागि प्रमुख सहयोगी हातहरूद्वय स्वीस रेडक्रस र ब्रिटिश रेडक्रसलाई धन्यवाद दिन्छु।”
प्रकाशित: २५ मंसिर २०८२ १३:४३ बिहीबार

