२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा

टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ। कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो।

छवटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्याइएको छ। आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौवटा वितरण ट्यांकी निर्माण गरिएको जनाइएको छ। खानेपानी आयोजना सम्पन्न भएर घरघरमा पानी आउन थालेपछि दैनिक जीवन सहज बनेको स्थानीय राजबहादुर राईले बताए।

आयोजनामा मूल्य अभिवृद्धि करसहित कुल रु दुई करोड १२ लाख एक हजार २१२ लागत लागेको वडाध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए। आयोजनामा रु ५२ लाख ६३ हजारबराबरको श्रमदान पनि गरिएको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले योजना सम्पन्न भएपछि यहाँका बासिन्दाको पुरानो समस्या अन्त्य भएको बताइन्। उनका अनुसार गाउँपालिकामा धेरै आवश्यकता भए पनि आन्तरिक स्रोत सीमित हुँदा सबै योजनालाई एकैपटक सम्बोधन गर्न कठिनाइ हुँदै आएको छ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा सडक पूर्वाधारमा प्राथमिकता निर्धारण गरेर योजनाबद्ध रूपमा काम भइरहेको बताए। भौगोलिक विकटताका कारण कतिपय ठाउँमा काम गर्न चुनौती रहेको अध्यक्ष बस्नेतले जानकारी दिए। रासस

प्रकाशित: २ मंसिर २०८२ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App