३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध

देशभरका किसानलाई विद्युतीय प्रणाली मार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो।

कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार किसानलाई सूचीबद्ध गरिएको केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताए। उनका अनुसार किसानको जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो।

सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको अधिकृत पण्डितले बताए। किसानको वर्गीकरणपछि परिचयपत्र वितरण गर्ने, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायत कार्यक्रम गरिनेछ।

कृषि जनगणनाबाट प्राप्त भएको किसानको सङ्ख्या केही घटबढ भने हुन सक्ने केन्द्रका अधिकृत पण्डितले बताए। परिचयपत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन लगायत सुविधासहित आवश्यक सहायता उपलब्ध गराउने योजना बनाएको छ।

उक्त कार्यक्रममा देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो। केन्द्रका अधिकृत पण्डितले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आग्रह गर्दै उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफल लगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको बताए।

केन्द्रले किसानलाई आवश्यक सूचना उपलब्ध गराउनुका साथै कर्मचारीलगायत सरोकार भएका पक्षलाई कृषि सशक्तीकरण सम्बन्धी तालिम प्रदान गर्दै आएको छ।

प्रकाशित: ९ पुस २०८२ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App