अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदमार्गको प्रवेशद्वारमै पर्छ कास्कीको वीरेठाँटी। अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीमा अघिल्लो साताको बाढीले व्यापक कटान गर्यो।
सडक कटान गरेसँगै अन्नपूर्ण क्षेत्रका घान्द्रुक, घोरेपानी, छोमरोङ लगायतका गाउँ सडक सञ्जालबाट विच्छेद भए। वीरेठाँटीको कटानलाई मर्मत सम्भार गरेर अहिले सडक खुलाउने प्रयासमा स्थानीय तह सक्रिय पनि छ।
यातायात अवरुद्ध भएपनि पदयात्राका पर्यटकको पाइला भने नरोकिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार पहिरोले सडक अवरुद्ध गरेको दुई दिनसम्म केही समस्या परेर पर्यटक उक्लिन नसकेपनि अहिले भने नियमित जसो पाहुना एबिसीसम्म पुगिरहेका छन्।
‘हुन त यो अफसिजन हो। त्यसैमाथि पदयात्रा प्रवेशद्वारमै कटान हुँदा एबिसी पदमार्ग क्षेत्र प्रभावित भएको सन्देश प्रवाह पनि भएको हो। तर, पदयात्रा भने रोकिएन। बाढी पहिरोको त्रास कम हुनासाथ अहिले पाहुनाहरू उक्लिन थालेका छन्,’ छोमरोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगन गुरुङ भन्छन्, ‘गाडी पो नचलेको हो, तर, खुट्टाले हिँड्न कसैलाई रोकेको छैन, पैदल हिँड्नै नसकिने अवस्था पनि छैन। सुरुका दुई दिन भने पदयात्रा पनि प्रभावित भयो। तर, अहिले नियमित जसो पाहुनाहरू उकालो लागेका छन्।’
उनका अनुसार अबको केही समयमा पदयात्रा क्षेत्रका सिजन सुरु हुँदैन । सिजनको मुखमा बाढीले केही त्रसित पनि बनाएको हो। तर पनि पाहुनाले पदयात्रालाई नरोकेको उनले बताए।
‘थप बाढी पहिरोको जोखिम नभएपछि अहिले दिनमा ५० जनाको हाराहारीमा पर्यटकहरू एबिसी पुगिसकेका छन्,’ गुरुङले भने, ‘गाडीको यात्रा मात्र रोकिएको हो। पदयात्रा पुन ब्युँतिएको छ।’
माथिल्लो क्षेत्रमा बिग्रएको केही सडक स्थानीय व्यवसायीले नै मर्मत सम्भार गरेर पाहुनालाई एबिसीमा स्वागत गर्न सकेको उनले बताए।
उनका अनुसार घान्द्रुक–वीरेठाँटी पदयात्राको झिनुसम्म मात्र यसअघि गाडी चल्दै आएको थियो। झिनुभन्दा माथिल्लो क्षेत्र नितान्त पदयात्रा थियो। पहिरोले सडक अवरुद्ध गर्नअघि झिनुबाट सुरु हुने पदमार्ग अहिले केही दूरी लम्बिएर वीरेठाँटीसम्म पुगेको छ।
‘पर्यटक त झनै खुसी भएका छन्। गाडीको होहल्ला र धुलो हिलोमैलो पनि छैन। पहिरोको त्रास नहुने हो भने यो बेला पदयात्रामा रोकिएको मोटरबाटोले समस्या पारेको छैन,’ उनले भने, ‘झनै लामो दूरी पदयात्रा गर्न पाइयो भनेर पर्यटक खुसी भएका छन्।’
वीरेठाँटीबाट सुरु हुने एबिसी क्षेत्रको पदयात्रा घान्द्रुक, घोरेपानी, छोमरोङ हुदै एबिसीसम्म पुग्न सकिन्छ। अहिले पहिरोले मोटरबाटोको ठाउँ ठाउँमा कटान गरेको छ। सडक खुलाउनका लागि स्थानीय तहले उपकरण समेत परिचालन गरेको छ। तर सडक खुलिसकेको छैन।
छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले पनि अहिले दैनिक ५० जानको हाराहारीमा पर्यटक एबिसी उक्लिएको बताए। ‘हुन त यो बेला अफसिजन हो। यही बेलामा बाटोमा पहिरोले गाडी रोकिएको छ। तर, पदयात्रा भने रोकिएन। अहिले भारतीय सहितका विदेशी पाहुना आएका छन्,’ उनले भने, ‘अफसिजनको समय, त्यसैमाथि पहिरोको त्रास, तर पनि पाहुना अभाव भएन।’
थोरै संख्यामा भए पनि पाहुना उक्लेपछि अहिले आधार शिविरको व्यवसाय चल्तीको अवस्थामा रहेको उनले बताए।
‘पदयात्रामा हिँड्ने हो। पदयात्रा सुरक्षित हुनुपर्छ। तर, पाहुना हिँड्न पाउँदा खुसी नै छन्,’ उनले भने, ‘केही वर्ष अघिसम्म पैदल हिँडेकै भरमा चलेको पदमार्ग हो। अहिले पनि हिँड्न मिलेसम्म पाहुना हिड्नै चाहन्छन्। त्यसैले सुरक्षित रूपमा यात्रा गर्दा फरक पर्दैन।’
उनका अनुसार छोमरोङ भन्दा माथिको भागमा केही कटान र खाल्डाखुल्डी भएको ठाउँमा भने पर्यटन व्यवसायीले नै पदमार्ग मर्मत सम्भार गरेर सहज बनाएका छन्।’
स्थानीय व्यवसायीका अनुसार पछिल्ला केही वर्षदेखि वर्षा यामका समयमा पनि अन्नपूर्ण क्षेत्रका होटल चलायमान बन्ने गरेका छन्। वर्षायामको समयमा बन्द रहने होटल अहिले पाहुना जान थालेपछि बाह्रैमास खुल्न थालेको पनि उनीहरूको भनाई छ।
‘अहिले पनि एबिसी बन्द छैन। पाहुना गएका छन्। सिजनको तयारीमा हामी लागेका छौँ। मोटर बाटो अवरुद्ध छ, तर, पदयात्रा खुला छ,’ उनले भने।
प्रकाशित: ७ भाद्र २०८३ १८:५९ आइतबार





