राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत लाभका लागि राजनीति प्रयोग नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। उनले राजनीतिमा प्रतिबद्धता, इमान्दारिता, आँट, साहस र जिम्मेवारी आवश्यक रहेको बताए।
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो श्रृङ्खलामा बोल्दै लामिछानेले पार्टीभित्र रहेका नेता–कार्यकर्ताको योग्यता, क्षमता, विज्ञता र अनुभवलाई आफूले चुनौती दिन नसक्ने बताए। सभापति हुँदैमा आफू अरूभन्दा जान्ने, विद्वान् वा अनुभवी भएको दाबी नरहेको उनको भनाइ थियो।
‘सभापति बन्दैमा म तपाईँभन्दा जान्ने, तपाईँभन्दा विद्वान्, तपाईँभन्दा पढेको, तपाईँभन्दा धेरै अनुभव गरेको कहिल्यै क्लेम गर्दिनँ,’ उनले भने, ‘तर राजनीतिमा कतै न कतै प्रतिबद्धता, आँट, साहस र हिम्मत हामीसँग हुनुपर्दछ।’
लामिछानेले आफू २१ सिटको दलको नेता रहेका बेला प्रधानमन्त्री बन्ने अवसर आए पनि अस्वीकार गरेको बताए। तत्कालीन अवस्थामा प्रधानमन्त्री बनेर छोटो समय पदमा बस्नुभन्दा देशमा भइरहेको आन्दोलन, परिवर्तनको अपेक्षा र जनताको भरोसालाई प्राथमिकता दिएको उनको भनाइ थियो।
‘म भइहालेँ भने पनि दुई महिना, चार महिना, छ महिनाको प्रधानमन्त्री बन्थेँ होला। धेरै नै धेरै भए सिंहदरबारमा एउटा तस्वीरसम्म टाँसिन्थ्यो होला,’ उनले भने, ‘तर देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, देशले यत्रो परिवर्तन कुरेको थियो, देशले यस्ता होनहार मान्छे कुरेको थियो। मसँग त्यो अधिकार थिएन।’
उनले आगामी निर्वाचनमा टिकट नपाउँदा व्यक्तिगत असन्तुष्टिका कारण पार्टी र देशको राजनीतिलाई प्रयोग गर्न नहुने बताए। टिकट वितरणका क्रममा आफूविरुद्ध सामाजिक सञ्जालमा आलोचना हुन सक्ने भए पनि व्यक्तिगत लाभलाई राजनीतिभन्दा माथि राख्न नहुने उनको भनाइ थियो।
‘भोलि आउने चुनावमा यही हलमा भएका कयौँ साथीहरूले कुनै कारणले टिकट पाउनु भएन भने सबैभन्दा पहिला मलाई फेसबुकमा गाली गरेर निस्किने पनि हुनुहुन्छ होला,’ उनले भने, ‘तर जसो तसो राजनीति हाम्रो पोल्टामा आइपुग्यो। त्यसको अर्थ हाम्रो व्यक्तिगत लाभमा देशको राजनीति प्रयोग नहोस्।’
रास्वपामा युवा केन्द्रीय सदस्य, सांसद र मन्त्रीको उल्लेख्य उपस्थिति रहेको भन्दै लामिछानेले पार्टीका गतिविधिले युवाको नेतृत्वप्रति देशभित्र र बाहिरको धारणा प्रभावित पार्ने बताए।
‘आज हामीले बाटो बिरायौँ भने संसारभरि के म्यासेज जान्छ भने युवाको नेतृत्वले काम छैन, युवा भएर हुने रहेनछ,’ उनले भने, ‘हाम्रो शिर झुक्ने काम गर्नु हुँदैन।’
लामिछानेले राम्रो काम गर्न नसके पनि गलत काम नगर्ने प्रतिबद्धता गर्न नेता–कार्यकर्तालाई आग्रह गरे। ‘केही गर्न सकिँदैन भने पनि गलत नगर्न सकिन्छ। राम्रो केही गर्न सकिँदैन भने नराम्रो केही पनि नगर्न त सकिन्छ नि,’ उनले भने।
प्रकाशित: ७ भाद्र २०८३ १८:४२ आइतबार





-600x400.jpg)