२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

न्यानो कप र मीठो गफ: नेपाली मन जोड्ने ‘चिया’ को उत्सव

वैशाख १५, अर्थात् राष्ट्रिय चिया दिवस। नेपालीका लागि केवल पेय पदार्थ मात्र होइन चिया, सम्बन्धहरूको सेतु पनि हो। आतिथ्यको पर्यावाची र नेपाली जीवनशैलीको अभिन्न हिस्सा हो।

बिहानको झुल्के घामसँगै ओँठलाई स्पर्श गर्ने तातो चियाको कपदेखि बेलुकाको थकान मेटाउने ‘चिया गफ’ सम्म। चियाले नै मानिसहरूलाई भावनात्मक रूपमा जोड्ने काम गरेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक फाईन्द्र राज पाण्डेका अनुसार यस दिवस चिया उत्पादन मात्र नभई यसले बोकेको सांस्कृतिक र आत्मीय मूल्यलाई सम्मान गर्ने दिन पनि हो।

नेपाली समाजमा पाहुनाको सत्कार चिया विना अपुरो मानिन्छ। कसैको घर पुग्दा होस् वा कुनै व्यावसायिक बैठक, ‘एक कप चिया खाऔँ न त’ भन्ने प्रस्ताव आत्मीयताको पहिलो कदम बन्ने गर्छ।

सहरका व्यस्त गल्लीदेखि पहाडका एकान्त चौतारीसम्म चियाका कपहरूमा देशका राजनीति, समाज र प्रेमका कथाहरू सुनिने गर्छन्। यसले धनी र गरिबबीचको दूरी मेटेर एउटै बेन्चमा बसेर जिन्दगीका रङहरू साट्ने अवसर पनि प्रदान गर्दछ।

चियाको एक चुस्कीमा बगानका श्रमिकहरूको पसिना, किसानको माया र माटोको सुगन्ध मिसिएको हुन्छ। इलाम र झापाका हरियाली डाँडाहरूमा चियाका मुना टिप्ने औँलाहरूले केवल पात मात्र टिपिरहेका हुँदैनन्, देशकै आर्थिक भविष्य र लाखौँको खुसी बुनिरहेका हुन्छन्।

नेपालको पहाडी भेगमा पिइने नुनिलो ‘सु-चा’ होस् वा तराईको कडा ‘दूध चिया’, हरेक स्वादमा नेपालीपन र अपनत्व झल्किन्छ।

व्यस्त संसारमा केही बेर सुस्ताउन र आफ्ना प्रियजनसँग मनका कुरा साट्न चियाको कप सधैँ एउटा उत्तम बहाना बनिरहनेछ।

नेपाली चियाले पछिल्लो समय विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा पनि आफूलाई स्थापित गरेको छ। बोर्डका कार्यकारी निर्देशक पाण्डेका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै नेपालले १ करोड ५६ लाख केजी चिया निर्यात गरी ४ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ।

हाल नेपालमा कुल २० हजार ६०२ हेक्टर जमिनमा चिया खेती भइरहेको छ। यसबाट वार्षिक २ करोड ६१ लाख केजी तयारी चिया उत्पादन हुन्छ। चिया क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ६० हजार व्यक्तिलाई रोजगारी प्रदान गरेको बोर्डको तथ्याङ्कले देखाउँछ।

नेपालमा उत्पादित चियामध्ये ५५ प्रतिशत निर्यात हुने गरेको छ भने बाँकी ४५ प्रतिशत आन्तरिक बजारमा खपत हुने गर्दछ।

इतिहासको पानामा नेपाली चिया

जङ्गबहादुरदेखि राजा वीरेन्द्रसम्म नेपालमा चिया खेतीको इतिहास करिब १६२ वर्ष पुरानो छ। वि.सं. १९२० मा इलामका तत्कालीन बडाहाकिम कर्णेल गजराज सिंह थापाले चिया खेतीको सुरुवात गरेका थिए।

ऐतिहासिक कथन अनुसार चीनका सम्राटले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणालाई उपहारस्वरूप दिएको चियाको बीउबाटै नेपालमा यसको श्रीगणेश भएको मानिन्छ।

वि.सं. १९२२ मा झापामा सोक्तिम चिया बगान स्थापना भएपछि यसले व्यावसायिक स्वरूप लिन थाल्यो। तर, यसको तीव्र विकास भने वि.सं. २००७ को प्रजातन्त्र प्राप्तिपछि मात्र भएको देखिन्छ।

वि.सं. २०१६ मा निजी क्षेत्रबाट ‘बुद्धकरण चिया बगान’ स्थापना भयो भने सन् १९६६ मा सरकारी स्तरमा ‘नेपाल चिया विकास संस्थान’ गठन गरियो।

चिया क्षेत्रको विकासमा अर्को महत्त्वपूर्ण मोड वि.सं. २०३९ सालमा आयो। तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहले झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम गरी पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरे।

यसैको फलस्वरूप वि.सं. २०५० जेठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भएको हो।

उत्पादन र प्रशोधनको संरचना नेपालमा हाल १७० वटा ठुला चिया बगान (टी स्टेट) र १५ हजार १३२ जना साना किसानहरू चिया खेतीमा आबद्ध छन्।

साना तथा मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत चियाको प्रशोधन हुने गरेको छ। जिल्लागत रूपमा हेर्दा झापा र इलाम चिया उत्पादनको मुख्य केन्द्र हुन्।

झापामा मात्रै १० हजार ३४० हेक्टरमा खेती हुन्छ भने इलाममा ७ हजार ३०९ हेक्टर जमिन चिया बगानले ओगटेको छ।

नेपालमा विशेष गरी सीटीसी  र अर्थोडक्स गरी दुई प्रकारका चिया उत्पादन हुन्छन्। झापामा बढी मात्रामा सीटीसी उत्पादन हुन्छ भने पहाडी जिल्लाहरूमा अर्थोडक्स चियाको उत्पादन बढी छ।

पछिल्लो समय ग्रीन टी र ह्वाइट टी जस्ता विशिष्ट चियाको माग पनि अन्तर्राष्ट्रिय बजारमा बढ्दो छ।

भारतीय बजारको निर्भरता र बजारीकरण नेपाली चियाको मुख्य चुनौती भनेको वैदेशिक बजारको संकुचन र भारतीय बजारमाथिको अत्यधिक निर्भरता हो।

नेपालबाट निकासी हुने कुल चियाको ९६ प्रतिशत हिस्सा भारतले मात्र ओगटेको छ। भारतीय बजारमा हुने सानो फेरबदलले पनि नेपाली किसान र उद्योगीलाई प्रत्यक्ष असर पार्ने गरेको छ।

कार्यकारी निर्देशक पाण्डेका अनुसार बजार विविधीकरणमा अहिलेको मुख्य आवश्यकता हो। ‘नेपाली चियाले विश्व बजारमा आफ्नो पहिचान बनाउन सफल भए पनि बजारीकरणमा केही चुनौतीहरू छन्,’ पाण्डेले भने, ‘स्वदेशमै खाद्य प्रविधि प्रयोगशालाको सबलीकरण गरी निर्यात प्रवर्द्धनमा जोड दिनु आवश्यक छ।’

प्रकाशित: १५ वैशाख २०८३ २०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App