२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

छिमेकीको सहयोग माग्न भक्तपुरमा अनौठो अभ्यास

चोरी नियन्त्रणका लागि घरघरमा ‘सिट्ठी’

भक्तपुरको मध्यपुर थिमि नगरपालिकको दथुला टोलका स्थानीयबासीले टोलमा चोरी, डकैतीलगायतका अपराधिक घटना नियन्त्रणका लागि अनौठो उपाय अपनाउने गरेका छन् ।  

स्थानीयले टोलमा चोरी, डकैटी जस्ता घटनाहरु हुन नदिनका लागि टोलभरिका घरघरमा सिट्ठी राख्ने गरेका छन् ।  

No description available.

स्थानीयका अनुसार टोलका कुनै घरमा चोरी, डकैटीलगायतको कुनै शंका लागेमा त्यो घरमा वस्नेहरुले सिठी बजाउने हुन्छ । यसबाट उनीहरु टोलमा चोर पसेको र सहयोगका लागि आह्वान गरेको संकेत गर्दछन् ।  

‘यसले एकातिर टोलमा चोर आयो भनेर सम्पूर्ण टोलबासीहरुलाई थाहा हुन्छ भने अर्कोतिर चोरी डकैटीमा परेका परिवारलाई सहयोग गर्नुपर्‍यो भन्ने संकेत मिल्छ र त्यो परिवारलाई सुरक्षा दिन टोलबासी पुग्न सहयोग मिल्छ’, टोलबासीहरुले भने ।

No description available.

मध्यपुर थिमि नगरपालिका वडा नं ६ दथुला टोलकी स्थानीय लक्ष्मीशोभा प्रजापतिले यसको सुरुवात आफैंले गरेको सुनाइन् । ‘सुरुमा मैले टोलको एउटा परिवारलाई एउटाएउटा सिठ्ठी मेरो व्यक्तिगत पैसाबाट किनेर निःशुल्क वितरण गरे, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं ६ तथा प्रहरी वृत्त थिमिको संयुक्त आयोजनामा चोरी, लुटपाट तथा अनलाइन ठगी नियन्त्रण सम्वन्धी शुक्रबार वडामा भएको सार्वजनिक नागरिक सुनुवाइ कार्यक्रममा प्रजापतिले भनिन्, ‘पछि टोलभरिको परिवारलाई परिवारका प्रत्येक सदस्यलाई एउटाएउटा पुग्ने गरी सिठी खरिद गर्न अनुरोध गरे ।’  

No description available.

उनका अनुसार आफूले किनिदिएको एउटा सिठ्ठीको मूल्य ३० रुपैयाँ थियो । टोलमा हाल २३ घर रहेको र नयाँ घरहरु निर्माण हुने क्रम बढ्दो रहेको उनले बताए । अब नयाँ घर बनाएर बस्ने परिवारलाई पनि यही अनुरोध गर्दै गरेको दथुला टोल सुधार समितिका अध्यक्षसमेत रहेकी पूर्व शिक्षिका प्रजापतिले सुनाइन् ।  

यो टोल मध्यपुर थिमि नगरपालिका कार्यालयको पछाडि छ । खुल्ला ठाउँमा परेको यो ठाउँमा नयाँनयाँ घर बन्ने क्रम जारी नै छ ।  

कार्यक्रममा प्रहरी वृत थिमिका प्रमुख डिएसपी नवराज ढुंगानाले प्रहरी एक्लैको प्रयासमा अपराध नियन्त्रणमा कठिनाई हुने भन्दै त्यसको लागि समुदायको सहयोग आवश्यक भएको बताए ।

No description available.

चोरी नियन्त्रणमा सहयोगका लागि मध्यपुर थिमि नगरपालिकाले थप सिसी टिभीको जडानमा निरन्तरता बढाउँदै लान उनले अनुरोध गरे ।  

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापतिले चोरी डकैतीलगायतका समस्याबाट वडाबासीलाई मुक्ति दिलाउन कार्यक्रम गरेको स्पष्ट पारे । कार्यक्रमको क्रममा वडाबासीसँग प्रहरीले अन्तर्क्रियासमेत गरेको थियो । वडाबासीले उठाएका विभिन्न विषयमा डिएसपी ढुंगानाले जवाफ दिएका थिए ।

प्रकाशित: ४ पुस २०८२ १८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App