रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जिल्लाहरूमा खोज, उद्धार, शव व्यवस्थापन र सडक खुलाउने कार्यलाई तीव्र बनाउन नेपाल प्रहरीले ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा विशेष जनशक्ति परिचालन गरेको छ।
घाइतेको उद्धार, राहत वितरण, क्षतिको मूल्यांकन र अन्तर-निकाय समन्वयका लागि आवश्यक सञ्चार साधन, फोटोग्राफी उपकरण र ड्रोन क्यामेरासहित एसएसपीहरूको नेतृत्वमा टोली फिल्डमा खटाइएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवनमा खटाइएको छ भने एसएसपी श्याम कृष्ण अधिकारीलाई मुग्लिनमा बेस रहने गरी तनहुँ, गोरखा र चितवन क्षेत्रको जिम्मेवारी दिइएको छ।
यसैगरी, एसएसपी रमेश थापाको कमाण्डमा रहेको ४ सदस्यीय टोलीलाई गल्छीमा बेस रही धादिङ तथा नुवाकोटको सीमा क्षेत्रसम्म परिचालन गरिएको छ।
त्यस्तै, एसएसपी बिमल राज कंडेलको नेतृत्वमा ४ सदस्यीय टोली नुवाकोटमा बेस रही नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म खटिएको छ भने एसएसपी अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्चिमको जिम्मेवारी दिइएको छ।
यसका साथै बाढीका कारण क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा सडक खण्डहरू यथाशीघ्र सञ्चालनमा ल्याउन अन्य सुरक्षा निकाय र सरोकारवाला सरकारी निकायसँग समन्वय गर्न एसएसपी होबिन्द्र बोगटीको कमाण्डमा ४ सदस्यीय विशेष टोली परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा परिचालित टोलीहरूले स्थानीय प्रशासनसँग मिलेर राहत र उद्धार कार्यलाई एकीकृत रूपमा अघि बढाउने प्रहरीले जनाएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १४:१४ बिहीबार





