कुरुवा बस्न गएका बेला गोली लागेर एक जना घाइते भएका छन्। ठाकुरबाबा नगरपालिका–३ मिर्चैयास्थित गोली चल्दा ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ३८ वर्षीय रमेश तिमिल्सिना गएराति घाइते भएका हुन्।
मिर्चैयास्थित भिम साउदको घरमा कालगतिले एक जना मानिसको आइतबार मृत्यु भएको थियो। सोही ठाउँमा कुरुवा बस्न गएका बेला तिमिल्सिनालाई वडा नम्बर ३ गिदरपुरका २५ वर्षीय तर्क भण्डारीलगायतका व्यक्तिहरूको समूहले कुटपिट गरेका थियो।
घाइते तिमिल्सिनाको हातको दायाँ पन्जामा गोली लागेको छ। नगर अस्पताल भुरिगाउँमा सामान्य उपचारपछि घाइते तिमिल्सिनालाई थप उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पठाइएको र आइसियुमा राखी उपचार भइरहेको प्रहरीले जनाएको छ।
उक्त ठाउँमा विवाद हुँदा चार राउन्ड गोली चलेको आवाज आएको स्थानीयहरूले बताएका छन्। विवाद के कारणले भयो अझै खुलेको छैन।
घाइतेको हातको दायाँ पन्जामा घाउ देखिएको डिएसपी देवेन्द्रकुमार मल्लले बताए। ‘गोली लागेको पनि हुन सक्छ,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ, एक जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ, फरार अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।’
प्रकाशित: २४ कार्तिक २०८२ १०:२२ सोमबार





