नेपालगन्जमा बाहिरबाट आउने पर्यटक घुम्नका लागि पछिल्लो समयमा एउटा नयाँ गन्तव्यस्थल बनेको छ, बाँके राष्ट्रिय निकुञ्ज। निकुञ्जमा नेपाल, भारत र अन्य मुलुकबाट पर्यटकहरू आएर घुम्न थालेका छन्। पश्चिम नेपालका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आएका पर्यटकले बाँके राष्ट्रिय निकुञ्जलाई पनि आफ्नो रोजाइमा पार्न थालेको देखिन्छ।
विदेशीबाहेक स्वदेशी पर्यटकले पनि निकुञ्जलाई आफ्नो नयाँ गन्तव्य बनाएको पाइन्छ। निकुञ्जभित्र पर्यटकलाई घुमाउन सफारी जिप तयारी अवस्थामा राखिएका छन्। निकुञ्जभित्रका भौतिक पूर्वाधारहरू लगभग सम्पन्न भइसकेका छन्। पर्यटकलाई जंगल सफारी गराउन स्थानीय स्तरमै पर्याप्त मात्रामा नेचर गाईड तयार भएका छन्। उनीहरूलाई तालिम प्रदान गरेर निकुञ्ज प्रशासनले लाइसेन्ससमेत दिइसकेको छ। जिप सफारी, पदयात्रा र ‘नाइट जंगल स्टे’ जस्ता क्रियाकलापमा समावेश गराएर पर्यटकलाई वन्यजन्तु र प्राकृतिक वातावरणसँग आनदिन्त बनाइरहेका छन्।
पर्यटकलाई जंगल सफारी गराउनुअघि निकुञ्जको मध्यवर्तीमा सञ्चालित होमस्टे तथा रिसोर्टले विशेष रूपले स्वागत गर्छन्। निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा सामुदायिक होमस्टेहरू धमाधम खुलिरहेका छन्। ती होमस्टेमा आउने पाहुनालाई स्वागतसँगै स्थानीय खाजाका परिकार खुवाउँछन्। निकुञ्जमा प्रवेश गराएर आफ्नो प्याकेजअनुसार घुमाउँछन्।
यस्तो छ पर्यटकलक्षित सफारी प्याकेज
बाँकेमा आउने पर्यटक अर्थात् पाहुनालाई लक्षित गरेर नेपालगन्ज र कोहलपुर क्षेत्रमा तारे होटल तथा बैजनाथ र राप्ती सोनारी गाउँपालिका क्षेत्रमा होमस्टे, रिसोर्ट खुलेका छन्। बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै गरी दुई वटा सफारी जिप सञ्चालनमा ल्याइसकेका छन्, भने नाट्टा बाँकेसहित अन्य व्यवसायीले पनि सफारी जिप सञ्चालन गर्ने तयारी गर्दैछन्। यसले बाँके राष्ट्रिय निकुञ्जको पर्यटनलाई प्रवर्धन चलायमान गराउने पर्यटन व्यवसायीको अपेक्षा छ।
कोहलपुरको खड्गवार र राप्ती सोनारीको ढकेरीमा रहेका होमस्टेले पनि आफ्नो प्याकेज दिइरहेका छन्। राप्ती सोनारी–२ अगैयास्थित गोवारपुर गाउँमा हालै मात्र बाँकेका पर्यटन व्यवसायी देवानन्द अर्यालले रिसोर्ट नै खोलेका छन्।
मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरीका अनुसार निकुञ्जमा सफारी गर्न चाहने पाहुनाको माग बढ्न थालेको छ। निकुञ्जमा जंगल सफारी गराउन गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेमा गरेर हाल एक एक वटा सफारी जिप राखेका छन्। सफारी गर्नका लागि पाहुनाहरू क्रमिक रूपले आइरहेको उनी बताउँछन्।
थारु संस्कृतिमा आधारित होमस्टेमा आउने पाहुनाले जंगल सफारी गर्न चाहेमा उनीहरूलाई जिपबाट सफारी गराउने गरेको चौधरी बताउँछन्। नेपालगन्ज, कोहलपुर, सुर्खेत, दाङ, काठमाडौंलगायत विभिन्न जिल्ला तथा भारतलगायत अन्य देशबाट पनि होमस्टेमा पर्यटक (पाहुना) आउँछन्।

होमस्टेमा आउने पाहुनाका लागि चार घण्टा र आठ घण्टाको जंगल सफारी तथा जंगलमा ‘नाइट स्टे’ प्याकेज राखिएको छ। सफारी वापत चार घण्टाको १२ हजार र आठ घण्टाको १६ हजार रुपैयाँ जिप सफारीको प्याकेज राखिएको छ। यस्तै ‘जंगलमा नाइट स्टे र खाना तथा बस्नको लागि अलग प्याकेज रहेको छ।
होमस्टेमा आउने पाहुनाहरू प्रायः सफारी गर्न र जंगलमा ‘नाइट स्टे’ गर्न मन पराउँछन्। केही समयअघि मात्रै निकुञ्जको करेली मचानमा अमेरिकी नागरिकले नाइट स्टे गरेका थिए। निकुञ्जभित्र जंगल सफारी गराउँदा पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौकालगायतका वन्यजन्तुहरू पटक पटक देखिन्छन्।
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज गरिएको हो। निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ।
केही वर्षअघि गरिएको गणनाअनुसार निकुञ्जभित्र २१ वटा पाटेबाघ रहेको पुष्टि भए पनि अहिले त्योभन्दा बढेको अनुमान गरिएको छ। यस्तै चितुवा, चित्तल, चौका, बँदेल, निलगाई, हात्ती, दुम्सीलगायत विभिन्न प्रजातिका वन्यजन्तु, चराचुरुगी तथा सरिसृपको वासस्थान रहेको छ। निकुञ्जभित्र जैविक विविधताको दृष्टिले आठ वटा इकोसिस्टम, एक सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरिसृप तथा ६ प्रकारका उभयचर रहेको बताइन्छ।
उत्साहित पर्यटनकर्मी
बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्धनमा जोड दिइरहेको नेपाल पर्यटन बोर्डको एक टोलीसहित भारतको लखनउ र बहराइन तथा नेपालगन्जका पत्रकारले संयुक्त रूपमा शुक्रबार जंगल सफारी गरेका छन्। बोर्डले आयोजना गरेको जंगल सफारीका लागि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेले संयोजन गरेको थियो। जंगल सफारीका लागि निकुञ्जको चुरे क्षेत्रसम्म पुगेका पर्यटनकर्मी तथा पत्रकारले वन्यजन्तु अवलोकनसँगै प्राकृतिक वातावरणसँग रमाउन पाएको नाट्टा बाँकेका महासचिव भागिराम ओलीले सुनाए।
.jpg)
जंगल सफारीमा सहभागी भएका नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सूर्य थपलियाले बाँके राष्ट्रिय निकुञ्ज पनि नेपालगन्जसँगै जोडिएको पर्यटनको एउटा आर्कषणको केन्द्र हुन लायक भइसकेको बताए।
‘नेपालगन्ज व्यापारिक र पर्यटनका हिसाबले हबको रूपमा रहेको छ, बाँके राष्ट्रिय निकुञ्ज कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको नजिक रहेको हुनाले यहाँ पर्यटनको सम्भावना धेरै छ,’ उनले भने, ‘पाटेबाघ नै यहाँ २०÷२५ वटा रहेको तथ्यांक छ, यहाँ अर्को नयाँ आर्कषण छ, चुरे क्षेत्र।
चुरेसँग नजिक रहेको हुँदा यसको इकोसिस्टम पनि अरु तराईको निकुञ्जभन्दा फरक हुन सक्छ, सबै कुरालाई जोड्दाखेरि यसको प्रवर्धन आवश्यक छ।’ तराईमा रहेका थुप्रै निकुञ्जमध्ये बाँके राष्ट्रिय निकुञ्जको विशेषता अलि फरक रहेको थपलियाको तर्क छ।
निकुञ्जबाट तारे होटलदेखि होमस्टे तथा स्थानीय बासिन्दाले समेत आय आर्जन गर्न सक्ने उनको बुझाइ छ। निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले पर्यटनकर्मीलाई उत्साहित बनाएको छ। उनीहरू निकुञ्जलाई आधार बनाएर पर्यटन प्रवर्धनसम्बन्धी काममा लगानी थप्न थालेका छन्।

अर्कोतर्फ, निकुञ्ज कार्यालयले पनि वन्यजन्तुका लागि विभिन्न स्थानमा घाँसेमैदान, कृत्रिम ताल निर्माण गरेको छ, भने पर्यटकलाई अवलोकन गराउन वनपथ, मचानजस्ता पूर्वाधार बनाएको छ। कार्यालयका अनुसार निकुञ्जभित्र करिब एक दर्जन मचान, दुई सय किलोमिटरभन्दा बढी वनपथ (बाटो), २५ वटा सोलार जडिट ताल, चार सय ५० हेक्टर क्षेत्रमा घाँसे मैदान, चार वटा ठुला जलाशय निर्माण गरेको छ।
निकुञ्जमा पूर्वाधार निर्माण भएसँगै पर्यटन व्यवसायीले लगानी थप्दै छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेले निकुञ्जमा पर्यटन प्रवर्धनसम्बन्धी गतिविधि गरिरहेको छ।
नाट्टा बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपालगन्जदेखि २०÷२२ किलोमिटरको दुरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य रहेकाले सम्भावना धेरै छ।
निकुञ्ज भित्रको बाटो खुला भइसकेको छ। यसले गर्दा निकुञ्जभित्र सहज रूपमा सफारी गर्न सकिन्छ। नेपाल–भारत सिमानाका खुला रहेकाले छिमेकी देश भारतबाट पनि पर्यटक भिœयाउन सकिने सम्भावनालाई सिग्देलले देखेका छन्।
‘वनपथ तथा जन्तु दर्शन गर्ने मचान निकुञ्जका आकर्षण’
वीरेन्द्रप्रसाद कँडेल
प्रमुख संरक्षण अधिकृत
बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्जभित्र लगभग सबैजसो पूर्वाधार निर्माण भइसकेको छ। हामीले पूर्वाधार निर्माण गरेसँगै स्वदेशी र विदेशी पर्यटकलाई घुम्ने वातावरण बनाएका छौं। जिपबाट सफारी गर्नका लागि पर्याप्त मात्रामा वनपथहरू तयार भइसकेका छन। घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले मचानमा बसेर वन्यजन्तुलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नुहुनेछ। निकुञ्जभित्र जंगल सफारी गर्न स्वदेशी र विदेशी पर्यटकहरू आउन थाल्नुभएको छ। यो हाम्रा लागि अत्यन्तै खुसीको कुरा हो। यसको प्रचारप्रसार अझै गर्नुपर्ने देखिन्छ। चालु आर्थिक वर्षको सुरुवाती चरणमा पर्यटकहरूको उपस्थिति उत्साहजनक नै पाइएको छ। स्वदेशी मात्रै नभएर विदेशी पर्यटकहरू पनि निकुञ्जमा घुम्न आइरहनुभएको छ।
प्रकाशित: ६ मंसिर २०८२ ०७:२३ शनिबार





-1200x560-600x400.jpg)