७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सैनिक अनुशासनभित्रको बहुआयामिक यात्रा

व्यक्तित्व

सैनिक अनुशासनलाई फलामे अनुशासन भनिन्छ। सेनाले आफ्नो अनुशासनलाई शक्ति र धर्मसँग जोडेको हुन्छ। मर्यादा, अनुशासन र सदाचारको विषयमा सेनाले आफ्ना कर्मचारीलाई प्रशिक्षित नै गरेको हुन्छ। यसबाट फुर्सद निकालेर सैनिक कर्मचारीहरूले आफ्नो जीवनलाई सैनिक दुनियाबाट बाहिर पनि नियालिरहेका हुन्छन्।

खेलकुदको समर्पण, शैक्षिक गहिराइ र सांगीतिक संवेदनशीलतालाई कुनै एक व्यक्तिले आफ्नो जीवनमा एकसाथ अगाडि बढाइरहेका हुन्छन् र ती व्यक्ति एक असल सैनिक कर्मचारी पनि होऊन्। यी सबै गुण एउटै व्यक्तित्वमा समेटिनु आफैंमा सफलता हो।

लेफ्टिनेन्ट कर्नेल (अवकाशप्राप्त) खेमबहादुर क्षेत्री त्यही उदाहरणका रूपमा उभिएका छन्, जसले जीवनका विविध क्षेत्रमा उल्लेखनीय छाप छोड्न सफल मात्र भएनन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचानसमेत बनाएका छन्। बुद्धि, विवेक, कलाकौशल, क्षमता र अनुशासनयुक्त छविका व्यक्तिहरू सेना हुन्छन् भन्ने प्रायः मान्यता छ। यो मान्यतालाई क्षत्रीले स्थापित गर्दै लगेका छन्।

पाल्पाको तानसेन–तेल्घामा जन्मिएका क्षत्रीको बाल्यकाल नै सिर्जनशीलता र जिज्ञासाले भरिएको थियो। सानैदेखि गीत–संगीत, खेलकुद र अध्ययनप्रति झुकाव राख्ने उनले विद्यार्थीकालमा मार्सल आर्ट सिक्न सहज नभए पनि आँट गरेका थिए। उनका गुरु स्वर्गीय निर्जय श्रेष्ठसँग कराते सिक्दै उसु र आइटिएफ तेक्वान्डोसम्म पुग्दा उनको लगाव परिपक्व बन्दै गयो, जसले नेपाली सेनामा भर्ना हुन तालिमका लागि झन् सहजीकरण गर्‍यो।

आइटिएफमा गोल्ड मेडलिस्ट

नेपालमा भर्खरै प्रवेश गरिरहेको आइटिएफ तेक्वान्डोको प्रारम्भिक चरणमै सहभागी भएका क्षत्रीले प्रशिक्षकहरू राजकुमार थापा र किसान बलालको मार्गदर्शन पाएका थिए। ‘हात र खुट्टाको कला’ भनेर चिनिने तेक्वान्डोले उनलाई मात्र होइन, धेरै युवालाई पनि अनुशासन र आत्मरक्षाको बाटो देखाएको छ।

सन् २००० मा काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा तेक्वान्डोका संस्थापक जनरल चोई हङ हीबाट प्रशिक्षण लिने अवसर उनका लागि जीवनकै ऐतिहासिक क्षण बन्यो। त्यही वर्ष भएको पहिलो राष्ट्रिय आइटिएफ प्रतियोगितामा स्वर्ण जितेर उनले आफ्नो क्षमता स्थापित गरे। उनको आत्माले अझ ठुलो, अझ अनुशासित र अझै विश्वव्यापी हुने बाटो खोज्दै गर्दा आइटिएफ तेक्वान्डोको पहिलो ब्याचमा भाग लिएका थिए। ‘तेक्वान्डो सुरु गर्दा मलाई लाग्यो, खेलमा अनुशासन, जीवन दर्शन र आत्मबलको अनौठो संयोजन छ, जीवनको अर्को मोडमा प्रवेश गरेको अनुभूति भएको थियो,’ उनले भने।

सेनाभित्र नयाँ सुरुवात

२०५८ सालमा नेपाली सेनामा प्रवेश गरेपछि क्षत्रीले आफ्नो खेल यात्रालाई रोकेनन्। बरु सैनिक जीवनसँगै खेलकुदलाई अघि बढाउँदै उनले नेपाली सेनाभित्र पहिलोपटक आइटिएफ तेक्वान्डोको औपचारिक अभ्यास सुरु गराउने ऐतिहासिक भूमिका खेले। सूर्यविनायकस्थित ब्यारेकबाट सुरु भएको यो अभियान पछि अन्य पल्टनहरूमा फैलियो।

अहिले त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्नुमा क्षत्रीको योगदान महत्त्वपूर्ण मानिन्छ। छैटौं दक्षिण एसियाली आइटिएफ च्याम्पियनसिप (२०१८) मा भारतलाई पराजित गर्दै स्वर्ण पदक जित्नु उनको खेल जीवनको उच्च उपलब्धिमध्ये एक हो। अहिले उनी सातौं डानको तयारीसँगै विश्व च्याम्पियनसिपका लागि अभ्यासमा जुटिरहेका छन्। ‘मलाई लाग्थ्यो, राष्ट्र रक्षा र आत्मरक्षा अलग कुरा होइनन्। दुवैको मूल जरो आत्मबल नै हो,’ उनी सम्झन्छन्, ‘सेनामा प्रवेश गरेपछि मैले क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं डान प्राप्त गरे। अन्तर्राष्ट्रिय प्रशिक्षक, रेफ्री र कोचको भूमिकामा समेत सक्रिय भए। त्यसबेला सेनाभित्र तेक्वान्डो अभ्यास गरिन्थ्यो तर औपचारिक रूपमा प्रवेश भएको थिएन।’

केही वर्षपछि उनले एउटा कुरा प्रस्ट बुझ्दै गए– सेनाजस्तै कठोर र अनुशासित संस्थामा पनि नयाँपन, रचनात्मकता र खेल–संस्कृति भित्र्याउन सकिन्छ तर त्यो सजिलो थिएन। त्यस बेला सेनामा वल्र्ड तेक्वान्डो फेडरेसन मोडलमा मात्रै तेक्वान्डो अभ्यास हुन्थ्यो। फेडरेसनलाई भने औपचारिक मान्यता थिएन। उनलाई लाग्थ्यो– आइटिएफमा रहेको अनुशासन, आत्मरक्षा र प्रतिस्पर्धात्मक शैली सैनिक जीवनसँग झन् नजिक छ। २०६४ सालमा उनले श्री सूर्यदल गण, सूर्यविनायक ब्यारेकमा सैनिकहरूलाई पहिलोपटक आइटिएफ तेक्वान्डो अभ्यास सुरु गराए। त्यसपछि अन्य पल्टनहरूमा पनि यो खेल विस्तार हुँदै गयो। अहिले त्रिभुवन आर्मी क्लबअन्तर्गत आइटिएफ टोली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सेनाको प्रतिनिधित्व गर्दै निरन्तर स्वर्ण जितिरहेको छ।

शिक्षा र पेसागत विस्तार

खेलकुदसँगै शिक्षा क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन्। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र राजनीतिक शास्त्र तथा पूर्वाञ्चल विश्वविद्यालयबाट मानव अधिकारमा स्नातकोत्तर पूरा गरेका क्षत्रीले संस्कृत विश्वविद्यालयबाट मानव अधिकार विषयमै विद्यावारिधि पूरा गरेका छन्। कानुन व्यवसायमार्फत मानव अधिकारका विषयमा सक्रिय छन्। संस्कृत विश्वविद्यालयबाट २०७९ सालमा मानव अधिकार विषयमै विद्यावारिधि गरेपछि खेलले अनुशासन सिकाएको र पढाइले विचार–दर्शन सिकाएको उनीसँग अनुभव छ। ‘जब दुवै मिल्छन्, जीवन अर्थपूर्ण मात्र होइन, जनसम्पर्कले आकाश छुने रहेछ, यो अनुभव भइरहेको छ,’ उनी भन्छन्।

स्वास्थ्य, फिटनेस र समाजसेवा

योग तथा प्राकृतिक चिकित्सा अध्ययन गरी उनले स्वास्थ्य क्षेत्रमा पनि योगदान दिँदै आएका छन् । अन्तर्राष्ट्रिय स्तरका फिटनेस प्रशिक्षकको रूपमा समेत सक्रिय रहँदै उनले स्वस्थ जीवनशैली प्रवर्धनमा काम गरिरहेका छन्। समाजको एउटा फरक पाटोमा निःशुल्क सेवा गर्दै आएका उनले काठमाडौं प्रदर्शनी मार्गमा रहेको वाल्मीकि विद्यापीठमा योग तथा प्राकृतिक चिकित्सा विषयमा प्रमाणपत्र तह सरहको शिक्षा/तालिम उत्तीर्ण गरी योग तथा प्राकृतिक साधना गर्नेहरूलाई अभ्यास दिने गरेका छन्। साथै नेपालको पहिलो इन्टरनेसनल सर्टिफाइड फिटनेस एकेडेमी युरोपियन सर्टिफाइड पर्सनल ट्रेनरको समेत तालिम र परीक्षा उत्तीर्ण गरी अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा फिटनेसको अभ्यास दिने कार्य गरिरहेका छन्। यसलाई संसारका विशेषतः युरोपका २८ भन्दा बढी देशमा मान्यता प्राप्त छ।

संगीतमा निरन्तरता

सैनिक र खेल जीवनसँगै क्षत्रीको सांगीतिक यात्रा पनि समानान्तर रूपमा अघि बढिरहेको छ। गायन र वादन दुवैमा रुचि राख्ने उनले मादल, हार्मोनियम, बाँसुरी र सारंगी बजाउने गरेका छन्। २०६० सालमा रेकर्ड गरिएको पहिलो गीतदेखि पछिल्ला वर्षहरूमा चर्चित गायिका अञ्जु पन्त, रचना रिमालसँगको सहकार्यसम्म उनले संगीतमा निरन्तरता दिँदै आएका छन्। हाल निर्माणाधीन चलचित्र ‘परी’को शीर्ष गीतमा समेत उनको स्वर समावेश हुँदै छ। साथै सोही चलचित्रमा एक पात्रको भूमिकामा पनि उनी देखिँदै छन्।

प्रेरणाको स्रोत

खेमबहादुर क्षत्रीको जीवन यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, बहुआयामिक सम्भावनाको उदाहरण पनि हो। सैनिक सेवाबाट सुरु भएको उनको यात्रा खेलकुद, शिक्षा, कानुन, स्वास्थ्य र संगीतसम्म फैलिएको छ। समर्पण, अनुशासन र निरन्तर प्रयास भए कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश उनको जीवनले स्पष्ट रूपमा दिन्छ। आजको पुस्ताका लागि उनी प्रेरणाका एक सशक्त पात्र बनेका छन्।

बलिदानीको राजनीति नगर्न आग्रह

अझ पछिल्लो समय उनले राजनीति भन्नेबित्तिकै ‘बलिदान दिनैपर्छ’ भन्ने पुरानो सोचलाई चुनौती दिँदै पुस्तक लेखेका छन्। यसको मुख्य कुरा के हो भने अब राजनीति बलिदानमा होइन, मानिसको जीवन जोगाउने, सम्मान सुरक्षित गर्ने र दिगो भविष्य बनाउने कुरामा केन्द्रित हुनुपर्छ भन्ने रहेको छ। यही नयाँ सोचलाई पुस्तकले ‘सर्भावल पोलिटिक्स (जीवन जोगाउने राजनीति)’ भनेर चिनाउने गरी अंग्रेजी भाषामा प्रस्तुत गरिएको छ।

प्राचीन स्पार्टा र रोमदेखि आधुनिक क्रान्तिहरूसम्म हेर्दा बलिदानको नाममा बनेका धेरै राजनीतिक विचारले बारम्बार अशान्ति, तानासाही र जनताको दुःख बढाएको देखिन्छ। यसले बलिदानी राजनीति गरेको भन्दै अबको पुस्ता त्यसबाट टाढा रहनुपर्ने पुस्तकले जनाएको छ। यसमा फ्रान्स, रुस, चीन, नेपाल, सुडान, नर्डिक देशहरू, कोस्टारिका, बोत्स्वाना, जर्मनी, जापान, दक्षिण अफ्रिका, भारत, अमेरिकाजस्ता देशको अनुभव पनि समेटिएको छ। यी उदाहरणमार्फत पुस्तकले देखाउँछ कि बलिदानमा आधारित राजनीति भन्दा जनताको जीवन सुधार्ने, बलियो संस्था बनाउने, संवाद गर्ने र अहिंसाको बाटो अपनाउने राजनीति बढी प्रभावकारी हुन्छ।

प्रकाशित: ७ चैत्र २०८२ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App