चितवनको भरतपुर महानगरपालिका-२७ स्थित राधाकृष्ण सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।
बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का ४६ वर्षीय भीम महतोकाे मृत्यु भएकाे हाे।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार महतोसहित चार जना मंगलबार दिउँसो २ बजेतिर सामुदायिक वनकाे बेथरी खोलामा निउरो टिप्न गएका थिए।
सोही क्रममा महतोलाई बाघले आक्रमण गरी जंगलतर्फ लगेको उनका साथीहरूले बताएको चितवन प्रहरीले जानकारी दिएको छ।
बाघले लगेको सूचना पाउनेबित्तिकै नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज,नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो।
खोजीका क्रममा आज बिहान १०: ५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ।
प्रकाशित: १८ कार्तिक २०८३ १२:२३ बुधबार





